काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शंकास्पद वित्तीय कारोबार र गतिविधि प्रतिवेदन बढेको उल्लेख गरेको छ । प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा यस्ता कारोबार करिब ३० प्रतिशतले बढेको जनाएको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा वित्तीय लगानी रोकथाम तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत र सञ्चालनगत गतिविधिसँगै आगामी रणनीति लगायतलाई प्रतिवेदनमा प्राथमिकता दिएको छ ।
यस्तो छ वित्तीय जानकारी इकाईको आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को वार्षिक प्रतिवेदन
वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) का सम्बन्धमा इकाईले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण, इकाईमा प्राप्त हुने प्रतिवेदन र तिनको विश्लेषण एवम् प्रेषित तथ्याङ्क, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी विवरणसँगै आगामी रणनीतिक प्राथमिकतालाई प्रस्तुत गरेको छ ।
इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्ने, goAML Operational Guidelines जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको छ । साथै, इकाईले वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा goAML प्रणालीमार्फत वित्तीय सूचना संकलन उल्लेख्यरूपमा वृद्धि भएको छ । आ.व. २०८०/८१ मा goAML मा आवद्ध सूचक संस्थाहरूको सङ्ख्या १,६३८ रहेकोमा २०८१/८२ मा ३,४८७ पुगेको छ । सोही अवधिमा इकाईले ५,५६५ वटा शङ्कास्पद कारोवार/गतिविधि प्रतिवेदन (STRS SARS) प्राप्त गरेको छ। यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हाे ।
प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपश्चात् इकाईले ५४५ वटा STRS/SARS मा आधारित वित्तीय जानकारी प्रतिवेदन (Financial Intelligence Report) नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा सम्प्रेषण गरेको छ । यसवाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी र नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा हुने सहकार्यलाई थप मजबुत र विस्तार गरेको छ । साथै, APG ले सन् २०२३ मा गरेको पारस्परिक मूल्याङ्कनपश्चात् नेपाल ‘Jurisdiction Under Increased Monitoring’ (ग्रे-लिस्ट) सूचीमा परेपछि इकाईमार्फत भएका समन्वयात्मक कार्यलाई समेत प्रतिवेदनमा समेटिएको छ ।
वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका सुधारका प्रयासलाई इकाईको आगामी प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरेको छ । इकाईको आगामी कार्यदिशा वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ ।





















