काठमाडौं । निजी अस्पतालमा कार्यरत नर्सले अब सरकारी सरह तलब पाउने भएका छन् । शनिबार बेलुकी भएको वार्तामा आन्दोलनरत नर्ससँग २३ बुँदे सम्झौता भएको हो । सम्झौतामा नेपाल नर्सिङ संघ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, निजी मेडिकल कलेज सञ्चालकका प्रतिनिधि, निजी अस्पतालका प्रतिनिधिलगायत १४ जनाले हस्ताक्षर गरेका छन् । योसँगै महिना दिनदेखि आन्दोलनरत नर्सको आन्दोलन पनि स्थगित हुने भएको छ । आन्दोलन फिर्ताबारे विस्तृत जानकारी नेपाल नर्सिङ संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नर्सको मागका विषयमा शनिबार बिहानदेखि रातिसम्म चलेको वार्ता सफल भएको जानकारी दिएका छन् । उनले निजी मेडिकल कलेज तथा ठुला अस्पतालले कात्तिक महिनादेखि नर्सलाई सरकारी सरह तलब दिने छन् । यसै गरी अन्य निजी अस्पतालका हकमा एक महिनाभित्र नर्सिङका समस्या समाधान गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएपछि सरकारी सरहको तलब कायम हुने छ । प्रवक्ता डा. बुढाथोकीले दिनुभएको जानकारी अनुसार हाललाई अन्य अस्पतालले सरकारी तलबको ८० प्रतिशत तलब दिने सहमति भएको छ । उनले नर्सका समस्या समाधान गर्न बनेको कार्यदलको समय एक महिना थप भएको जानकारी दिएका छन् । निजी अस्पतालमा कार्यरत नर्सले एक महिनाअघिदेखि सरकारी सरह तलब भत्ता पाउनुपर्ने, श्रम शोषणको अन्त्य हुनुपर्ने,रात्रिकालीन भत्ता उपलब्ध गराउनुपर्ने, रोजगारीका लागि ओर्जिनल प्रमाणपत्र राख्न नपाइने, नर्सलाई काम गरेको अवधिको अनुभवपत्र दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका थिए ।
योसँगै नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नर्सले देशव्यापी रूपमा गरेको आन्दोलन फिर्ता लिएको जानकारी दिएकी छन् । उनले सरकारी अस्पतालमा कार्यरत नर्सका माग पूरा गराउने सहमति भएको जानकारी दिँदै त्यसका लागि कार्यदलको प्रतिवेदनमा उल्लेख गरेर अघि बढ्ने बताइन् । सरकारी अस्पतालमा कार्यरत करार नर्सलाई स्थायी गर्नुपर्ने, बढुवा हुनका लागि दुर्गम जानैपर्ने व्यवस्था हटाउनुपर्नेलगायतका माग सरकारी अस्पतालका नर्सले अघि सारेका थिए ।






















