काठमाडौं । सरकारले नर्सहरूका माग पूरा गराउन सातवटै प्रदेशमा कार्यदल गठन गर्ने र तिहार बिदामा पनि काम गर्ने नर्सहरुको पारिश्रमिकका लागि संघर्षरत कर्मचारीहरुको समस्याको सम्बोधन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य मन्त्रालय हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्सहरुको प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका सदस्य डा. अनुप बाँस्तोलाले जानकारी दिएका छन् । मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुख समेत रहेका डा बाँस्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ ।
प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधा लगायतका विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् । समितिको पहिलो बैठकले तिहार बिदाका अवधिमा भर्चुअल माध्यमबाटै भए पनि अध्ययनको काम अघि बढाउने गरी सातै प्रदेशमा कार्यदल बनाउने निर्णय गरेको हो ।
समितिको दोस्रो बैठक कार्तिक ९ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।






















