कैलाली । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमको कञ्चनपुरका विपीन जोशीको शव लक्ष्मी पूजाको दिन घर पुगेको छ । लक्ष्मी पूजाको दिन काठमाडौं आइपुगेको उनको शव सोही दिन परिवारलाई बुझाइएको हो । सबैतिर रमझम भइरहेका बेला जोशीको शव घर पुगेपछि परिवार भने शोकमा डुबेको छ ।
यसैबीच उनका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरुप दुई लाख सहयोग उपलब्ध गराउने बताएका हुन् । २०८० असोज २३ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले हमासको आक्रमणमा ज्यान गुमाएका परिवारलाई जनही २–२ लाखका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेको थियो भने सो समयमा विपीन जोशीको अवस्था अज्ञात रहेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।
साथै मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन् ।






















