Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्राकृतिक सौन्दर्यकाे दृष्यावलोकन, अर्कानिक स्वादसँगै रमाएर रिफ्रेसमेन्ट हुने उत्कृष्ठ गन्तव्य काभ्रेको थुम्की रिसोर्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमै केही गर्नुपर्दछ । आफ्नै माटोलाई उर्वर बनाउनुपर्दछ । आफ्नै ठाउँमा केही गरेर युवालाई रोजगारी दिनुपर्दछ । उत्पादनमुलक बन्नुपर्दछ । यस्तै सोच र सपना धेरैको हुन्छ । त्यसैमध्येको एक नाम हो लक्ष्मण न्यौपाने । उदीयमान पर्यटन व्यवसायी जो सबैका अगाडि मिजासिलो स्वभाव प्रस्तुत गर्दछन् । न्यौपानेलाई आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर धेरै पहिलेदेखि चलिरहेको हुटहुटी चलिरहेको थियो । त्यो साइत पनि जुर्दै गयो । परिस्थिति त्यतैतर्फ निर्माण हुँदै गएपछि न्यौपानेले आफ्ना सपना सुरु गर्छु भनेर लागे । त्यसपछि तीन दाजुभाई मिलेर सपना साकार पार्नेतर्फ अगाडि बढे र थुम्की रिसोर्ट अगाडि बढाउने निर्णय लिए । त्यसको नेतृत्व न्यौपानेले गरेका छन् । चार वर्ष अगाडि सुरु गरेको रिसोर्ट करिब एक वर्ष अगाडि सम्पूर्ण तयारी पुरा गरेर सञ्चालनमा रहेको छ । बिहान सनराइज हेरेर बेलुका सनसेटको बिदाई गर्न रिसोर्टबाट सकिन्छ । रिसोर्ट पारिवारिक जमघट, सेमिनार, अर्गानिक स्वादको विश्रामको लागि उत्कृष्ट गन्तव्य बनेको छ । यसै सन्दर्भमा प्रस्तुत छ अर्थ प्रणाली डट कमले उदीयमान पर्यटन व्यवसायी एवं थुम्की रिसोर्टका अध्यक्ष लक्ष्मण न्यौपानेसँगको कुराकानीको सम्पादित अंशः

थुम्की वास्तवमा कस्तो रिसोर्ट हो ? त्यहाँ कस्ता मानिसहरू जान सक्छन् र विशेषताहरु के छ ?

काठमाडौँबाट ३५ किलोमिटरको दूरीमा र बनेपाबाट पनि १३ किलोमिटर दक्षिणमा पर्दछ काभ्रेको बल्थली । त्यहीँ अवस्थित छ थुम्की रिसोर्ट । थुम्की अर्थात् डाँडको टुप्पोबाट बिहान र दिउँसोको समयमा हिमालय श्रृंखलाको दृष्यावलोकन, बिहान र साँझको समयमा सूर्याेदय र सूर्यातको दृष्यसहित उत्कृष्ट प्राकृतिक मनोरम दृष्यावलोकन गर्न सकिन्छ । यहाँ ठाउँ हेर्नका लागि मात्रै भएपनि मानिसहरू जाने गर्दछन् । त्यो नजिकै विश्वकै सबैभन्दा ठूलो त्रिशुल भएको लड्केश्वर मन्दिर पनि छ । त्यहाँ पनि धेरै मानिसहरू जाने गर्दछन् । गतवर्ष नेपालका राष्ट्रपति, राजा, काठमाडौँका मेयर लगायत राज्यका विभिन्न तहका उच्च पदस्थहरु पनि पुगेका थिए । हाइकिङका लागि महाभारत रेन्जकै अग्लो ठाउँ काभ्रेको सबैभन्दा अग्लो ठाउँ नारायणथान छ । त्यहाँ धेरै आन्तरिक र बाह्य पर्यटकहरू पुग्दछन् । त्यही बाटो भएर प्रकृतिसँग रमाउने मानिसहरू त्यहाँ जाने गर्दछन् । खानामा टिपिकल चिजहरु रहेका छन् । आफ्नै फार्महरूमा पालिएका लोकल (स्थानीय) खानाहरू, अर्गानिक खानाहरू रिसोर्टमा उपलब्ध छ । अहिले हामीले दिएको सेवाबाट ९५% भन्दा बढी मानिसहरू सन्तुष्ट नै भएर फर्किरहनु भएको छ । त्यहाँ मानिसहरूले पूर्णरूपमा मनोरञ्जन गर्ने, रिफ्रेसमेन्ट हुने गर्दछन् । मेडिटेसन योगा, ध्यानका लागि धार्मिक पर्यटनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । नजिकै नमोबुद्ध रहेको छ । हाइकिङको लागि जान सकिने ठाउँ हो त्यो ।

रिसोर्टले कति मानिस राख्न सक्ने क्षमता छ ? सभा, सम्मेलन सेमिनार गर्न सकिन्छ ?

रिसोर्टमा अहिले दुईवटा हलहरू छन् । एउटामा ५० र अर्कोमा ७० जना बसेर कार्यक्रम गर्न सकिन्छ । रिसोर्टले एक रातका लागि ६० जनासम्म राख्न सक्दछ । त्यो क्षमता छ । यसरी भन्दा ७० जनासम्म एउटै हलमा राखेर कार्यक्रम गर्न सकिन्छ । आवश्यक पर्दा टेन्ट सर्भिस गरेर समेत पाहुनाहरूलाई राख्न सकिन्छ । त्यहाँ पुग्नेहरुका लागि बिहान खेलकुद गर्ने चौर छ । फुटबल खेल्न सकिन्छ । विशेषगरी स्कुलका भाइबहिनीहरू त्यहाँ जाने गर्दछन् । उहाँहरूको कार्यक्रम गर्न सकिन्छ । अफिसियल कार्यक्रमहरू गर्न सकिनेछ । सभा, सम्मेलन गर्न सकिनेछ । त्यसैगरी विदेशी पर्यटकहरू पनि गइरहेका छन् । वरिपरि हिमाल देखिन्छ र त्यो ठाउँ हिमालको काख जस्तै देखिन्छ । डाँडाको टुप्पो काहीँ कतैबाट छेकिँदैन । सनराइज र सनसेटको मनोरम दृश्य देख्न सकिनेछ । रिसोर्टमा बिहान सनराइज हेरेर बेलुका सनसेटको बिदाई समेत गर्न सकिन्छ ।

नाम थुम्की पनि त्यसै भएर राखिएको हो ?

थुम्की भनेको आफैंमा एउटा डाँडाको टुप्पो हो । त्यो ठाउँको पुरानो नाम नै थुम्की हो । त्यो गाउँको पुरानो नाम नै थुम्की हो । आफ्नै गाउँको नाममा प्रचार गरौँ न किन यो विदेशी विभिन्न नाम लिइरहनु भनेर हामीले थुम्की नाम राखेर सुरु गरिएको हो । हामीलाई यही नाम नै बढी प्यारो लाग्दछ ।

अर्गानिक खाना पाइने भनिएको छ, के–कस्ता परिकार पाईन्छ ?

रिसोर्टमा नेपाली अर्गानिक खानाको स्वादमार्फत मज्जा लिन पाइनेछ । त्यहाँ इटालियन अन्य कन्टिनेन्टल, चाइनिज, इटालियन सबै देशका खानाहरू पाइन्छन् । विशेषगरी हाम्रो जोड चाहिँ त्यहीँको नेपाली खानामा रहेको छ । अर्को प्याकेट मसलाहरू हामी प्रयोग गर्दैनौँ । पिरोमा अकबरे खुर्सानी मात्रै प्रयोग गरिन्छ । तेलमा तोरीको तेल मात्रै प्रयोग गरिन्छ । अजिना मोटो लगायत कुनै पनि प्याकेट मसला हामी कहाँ जाँदैन । त्यहाँ लोकल कुखुराहरू पाइन्छ । त्यहाँ कालिज फर्म छ । बदेल लगायत खान पाइन्छ । बिहानको सुरुवात नै कोदो, फापरको परिकारबाट हुन्छ । त्योसँगै फलफुल पनि राखिन्छ । ब्रेकफास्ट त्यसरी सुरु हुन्छ । हामीले पर्यटकको आवश्यकता अनुसार पाउरोटी पनि दिनुपर्ने हुनसक्छ । तर हाम्रो रिसोर्टमा एक दुई प्रतिशतले मात्र पाउरोटी खान्छन् । हामीले दिएको कोदो फापरका परिकार र फलफुलमा नै पाहुनाहरू सन्तुष्ट हुने गर्दछन् । अरु परिकारहरू चाहनुहुन्न । पारिवारिकरुपमा त्यहाँ जान सकिनेछ । पारिवारिक रूपमा जान कोही चाहन्छन् भने हामीले नै काठमाडौँबाट त्यहाँ जाने व्यवस्था गरिदिनेछौँ । लैजाने र ल्याउने दुवै व्यवस्था हुने गर्दछ । त्यस्तै अफिसियल ग्रुपहरू जान सक्दछन् । मिटिङहरूको लागि मानिसहरु जान सक्दछन् । विभिन्न ग्रुपहरू जान सक्दछन् । विभिन्न कार्यक्रमको लागि रिसोर्टलाई गन्तव्य बनाएर जान सकिनेछ ।

यदि कोही जान चाहे भने कसरी सेवा दिनुहुन्छ ?

सामान्य रिसोर्ट सरहकै दरमा हामीले सेवा दिने गर्दछौँ । धुलिखेल नगरकोट रेन्जकै सेवा सुविधा र दर हुने गर्दछ । थप अरु कुनै महँगो छैन । धुलिखेलतिरभन्दा अझै सस्तो छ भन्ने हाम्रो दाबी छ ।

पर्यटक आगन्तुकको प्रतिक्रिया के छ ?

लोकेशन अर्थात् स्थानको हिसाबले हामी एकदमै राम्रो स्थानमा छौं । केही विदेशी पर्यटकले समय समयमा प्रतिक्रिया पनि दिने गर्दछन् । कतिपयले त संसार धेरै घुमियो तर यहाँ आउँदा जति आनन्द हामीलाई काहीँ पनि भएन भन्ने प्रतिक्रिया पनि पाइने गरिएको छ । त्यो हाम्रो लागि गौरवको कुरा हो । खुसीको कुरा हो । सबैलाई प्रकृति र सबै ठाउँ मनपर्छ भन्ने पनि हुँदैन । त्यहाँ पुगेका ९५ प्रतिशतभन्दा बढी पर्यटकहरू चाहीँ खुसी नै भएर फर्किने गरेका छन् ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

विशेषगरी पर्यटन क्षेत्र त्यसमा पनि होटलहरुमा रिफ्रेसमेन्टको लागि जाने हो । हामी हप्ता, महिना, वर्षौंभरि काम गर्छौं । त्यसक्रममा हामीमा भएका तनावहरू बिसाउनको लागि, घुम्नका लागि र विभिन्न स्थानमा जाने गर्दछौँ । त्यस्तै एक उत्कृष्ट गन्तव्य हो थुम्की रिसोर्ट । त्यहाँ गएर रिफ्रेसमेन्ट भएर आउने हो । परिवारसँग रमाउन जाने हो । साथीभाइहरूसँग रमाउन जाने हो । त्यहाँ गएर पूर्णरूपमा रमाएर रिचार्ज भएर काठमाडौँ वा आफ्नो गन्तव्यमा फर्किने हो । त्यो वातावरण थुम्की रिसोर्टबाट बन्नेछ । त्यसका लागि थुम्की रिसोर्टमा आउन म सबैलाई आह्वान गर्दछु ।

(न्यौपाने आर्थिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्ति हुन् ।)

Health Tips Ad Road Block