काठमाडौँ । सानिमा बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा आज कार्तिक २ गते बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले यसवापत कुल १ अर्ब ७ करोड ५४ लाख ७ सय ५० रुपैयाँ १५ पैसा नगद लाभांश वितरण गर्नेछ ।
साधारण सभाले संस्थापक समूह (‘क’ समूह) बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन समेत सम्पन्न गरेको छ । जसमा तुक प्रसाद पौडेल अध्यक्षमा दोहोरिएका छन् भने बलराम पराजुली र निशा कुम्पाख सदस्यमा चयन भएका छन् ।
सभाबाट पारित मुख्य प्रस्तावहरूः
आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरणहरू पारित गर्ने ।
बैंकका सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको आ.व. २०८१/८२ को एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
लेखापरीक्षण समितिको सिफारिसअनुसार आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही रु १०० को दरले २ अर्ब रुपैयाँ (रु. २,००,००,००,०००) बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने ।
बैंकको अधिकृत पुँजी २० अर्बबाट वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने । अग्राधिकार शेयर जारी गरेपश्चात् सोही हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र/नियमावलीमा आवश्यक संशोधन गर्ने ।
अग्राधिकार शेयर जारी गर्ने प्रक्रियामा नियमनकारी निकाय (राष्ट्र बैंक, धितोपत्र बोर्ड आदि) बाट आउने निर्देशनअनुसार प्रबन्धपत्र/नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने । आदि ।






















