काठमाडौं । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुनसमेत सहज हुने भएको छ । उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रीलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भैहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।
यसैगरी दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा असोज २८ गतेदेखि भिएसटी प्रविधि मार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको छ । ४१९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो(रोल्पा रुटको बेदिङ ना रुट, नागाउँ, च्छो रोल्पा, दूध कुण्ड, यालुङ बेसक्याम्प, टासी लेप्चा पास बेसक्याम्पसमेतका भागहरुमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा पर्यटकहरुलाई सञ्चार सम्पर्क र आपतकालीन समयमा उद्दार कार्यहरुका लागि उपयोगी हुने विश्वास लिइएको छ।
पर्यटकीय सिजनका कारण कामदारहरुको अभावका साथै सहयोगीको रुपमा लगिएका व्यक्तिहरु समेत अस्वस्थ भएका कारण नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरुको अथक मेहेनत पश्चात् उक्त सेवा प्रवाहको कार्य सम्भव भएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले भौगोलिक रुपमा विकट, दुर्गम तथा सेवा प्रवाहका लागि अत्यन्त कठिनाइ रहेका स्थानहरुका जनतालाईसमेत समान रुपमा दूरसञ्चार सेवा प्राप्त गर्न सम्भव हुनेगरी सेवा प्रदान गर्ने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।






















