काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले अध्यक्ष र महासचिवलाई मार्ग प्रशस्त गरिदिन माग गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी विभिन्न ७ बुँदे असन्तुष्टि राख्दै मार्ग प्रशस्त गरिदिन भनेका हुन् । खड्कासँगै उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रविनचन्द ठकुरी र रुपेश अधिकारी लगायत कार्यक्रममा उपस्थित थिए । उनले भनेका छन्, ‘अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली फुटबलको विकास र प्रवर्दनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न स्थापित एक गरिमामय संस्था हो। तथापि, वर्तमान एन्फा नेतृत्वले देखाएको कार्यशैलीले हामीलाई गम्भीर रूपमा निराश बनाएको छ। फुटबलको विकासका लागि गर्नुपर्ने आधारभुत कार्यहरूमा समेत उदासीनता देखाएको, सरोकारवालाहरूको आवाजलाई बेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको सन्दर्भमा हामी विगत लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छौं। हामा गुनासोहरूको सुनुवाइ नभएपछि आज यस पत्रकार सम्मेलनमार्फत आफ्ना असन्तुष्टिहरु सार्वजनिक गर्न हामी बाध्य भएका छौं ।’
यस्ता छन् वरिष्ठ उपाध्यक्ष खड्का समूहको असन्तुष्टिहरुः
१. संवेदनशील घटनामा उदासीनताः
मकवानपुरस्थित एन्फा एकेडेमीमा एक खेलाडीको दुःखद निधन भएको घटनापति एन्फाले संवेदनशीलता देखाउन सकेको छैन। पीडित परिवारलाई न्याय दिन र घटनासम्बन्धी छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन एन्फा नेतृत्व पूर्णरुपमा असफल भएको छ।
२. सरोकारवालाको बेवास्ताः
क्लब, खेलाडी, प्रशिक्षक रेफ्री र समर्थकहरू नेपाली फुटबलका मेरुदण्ड हुन्। तर वर्तमान नेतृत्वले बहुमतको आडमा एकलौटी निर्णय गर्ने र सरोकारवालाहरुको राय तया सुझावलाई पूर्णरूपमा बेवास्ता गर्ने गरेको छ जसले समय फुटबल परिवारमा निराशा बढ़ाएको छ ।
३. लिग सञ्चालनमा उदासीनताः
एन्फाको मुख्य दायित्वमध्ये एक महत्वपूर्ण कार्य विभिन्न डिभिजनका लिगहरु (ए, बी, सी डिभिजन लिग) राष्ट्रिय लिग, जिल्ला लिग, महिला लिग र स्कुल लिग नियमितरूपमा सञ्चालन गर्नु हो। तर यस विषयमा नेतृत्वले चासो देखाएको छैन। लामो समयदेखि लिगहरु नियमित नहुँदा खेलाडीहरु खेल जीवनबाट पलायन हुन वा विदेश जान बाध्य भएका छन्, जसले नेपाली फुटबलको आधारभूत संरचनालाई कमजोर बनाएको छ।
४. अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफलताः
दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलहरु खेलाउन आवश्यक मापदण्डअनुसार योग्य बनाउन एन्फा नेतृत्व पलायन भएको छ। साथै पोखरास्थित रंगशालालाई प्रयोगमा ल्याउनसमेत पहल नगरेको देखिन्छ जसले अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्ने अवसर गुमेको छ।
५. अपारदर्शी आर्थिक गतिविधिः
एन्फाको आर्थिक कारोबारमा पारदर्शिता कायम हुन सकेको छैन। आर्थिक अनियमितताका प्रश्नहरु उठ्दा पनि नेतृत्वले चित्तबुझ्दो जवाफ दिन सकेको छैन। विश्वकप टिकट, खेलकुद पोशाक खरिद, होटल व्यवस्थापन र रंगशालाको टिकट बिक्री वितरणमा समेत पारदर्शिता नहुँदा संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।
६. खेलाडीलाई प्रोत्साहनको कमीः
कार्यसमिति बैठकले खेलाडीहरुलाई कार, मोटरसाइकल, नगद लगायतका पुरस्कारसहित पुरस्कृत गर्ने निर्णय गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। खेलाडीहरुको मनोबल बढाउन र उनीहरूको योगदानको कदर गर्न पर्याप्त पुरस्कार तथा प्राेत्साहनको व्यवस्था गर्न नेतृत्व असफल भएको छ।
७. साधारण सभाका कार्यक्रममा ढिलाइः
साधारण सभाले तय गरेका महत्वपूर्ण कार्यक्रमहरु समेत समयमै गर्न नसक्दा यस गरिमामय समस्याप्रति आम सरोकारवालाहरुको गुनासो दिनानुदिन बढ्दै गइरहेको छ। यसले हामी लगायत सबै सरोकारवालाहरुलाई चिन्तित तथा निराश बनाएको छ ।
फोटोः प्रदीप श्रेष्ठ






















