काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दशैं, तिहारको बिदामा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन् । दशैँ, तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।
मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आ–आफ्नो स्वास्थ्य संस्थाबाट बिदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी, शल्यक्रिया सेवाहरु सदाझैँ यथावत् रुपमा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।























