काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४.२१ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९२ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिबिधि अध्ययन अर्ध वार्षिक प्रतिवेदनले यो तथ्याँक देखाएको हो ।
यसमा समग्र खाद्य तथा अन्य बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३६.८२ प्रतिशत रहेको छ । प्रमुख खाद्य बालीमध्ये मकै बालीको क्षेत्रफल २३.४६ प्रतिशत र गहँु बालीको क्षेत्रफल १४.२२ प्रतिशत रहेको छ । कोदो बालीको क्षेत्रफल ५.५८ प्रतिशत र जौ बालीको क्षेत्रफल ०.३९ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ९.१० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तोक्षेत्रफल ०.४१ प्रतिशतले बढेको थियो । त्यस्तै फलपूmल बालीले ढाकेको क्षेत्रफल ०.७९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्ता बालीले ढाकेको क्षेत्रफल १.३८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा मसला बालीले ढाकेको क्षेत्रफल ६.६६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्ता बालीले ढाकेको क्षेत्रफल ५.८२ प्रतिशतले बढेको थियो । यो अवधिमा बागमती र कर्णाली प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल बढेको छ भने बाँकी प्रदेशमा यस्तो क्षेत्रफल घटेको छ । तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल मधेस, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा बढेको छ भने कोशी, बागमती र सुदूरपश्चिम प्रदेशमा घटेको छ । समीक्षा अवधिमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फलपूmल बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा फलपूmल बालीले ढाकेको क्षेत्रफल घटेको छ । मसला बालीले ढाकेको क्षेत्रफल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेश बाहेकका प्रदेशहरूमा घटेको छ ।
धान बालीले ढाकेको कुल क्षेत्रफलमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी (२५.९६ प्रतिशत) रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (२.९२ प्रतिशत) रहेको छ ।





















