Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल र चीन जोड्ने अन्तर्राष्ट्रिय नाका तातोपानी आवागमन गर्ने अरनिको राजमार्ग सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तर्राष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो ।

पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ती रहेको र उक्त पहिरोको कारण बस्ती समेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो । सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । सो स्थानमा नयाँ डिजाईन अनुसार काम गर्नु पर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भई रहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिएका छन् । पहाडी धरातल र लेदो बगी रहने गरेका कारण सो स्थानमा समय समयमा समस्या आउने गरेको छ । ग्याविन पर्खाल लगायतका अन्य संरचनाहरुको निर्माण गरि सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीले बताए । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहीबार अपह्रान्ह देखि ठूला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानले जानकारी दिए । यातायात सहजरुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जनाए ।

केहि दिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गई रहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिएका थिए । दिर्घकालिन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरि प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।

Health Tips Ad Road Block