काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरूबारे प्रस्ट पारेका थिए । विशेष गरि संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी–यूनियन पे कार्ड, भिजा कार्ड, नेपाल पे कार्ड आदि मोबाइल बैंकिङ्ग सेवा, अन्तर बैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे ।
वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू स्मार्ट क्यू आर साउण्ड बक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरेका थिए । स्मार्ट क्यू आर साउण्ड बक्स स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यू आर साउण्ड बक्स मार्फत सुन्न सक्नेछन् । स्मार्ट क्यू आर साउण्ड बक्सलाई मर्चेन्टहरूले आफ्नो वाइफाइसन्ग लिंक गरेर वा स्मार्ट क्यू आर साउण्ड बक्स मै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यू आर साउण्ड बक्समार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । एससीटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्यू आर साउण्ड बक्समार्फत जानकारी हुने कम्पनीको भनाइ छ ।
साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेशन लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।






















