काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन अथवा महिना कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताएकी छन् । प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता अस्थिर भएको भन्दै अब आफूले प्रत्येक दिन हुँदै आएको कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने उनले स्पष्ट पारिन् ।
त्यस्तै उनले कर्मचारी सरुवा प्रणाली व्यवस्थित गर्न आफूले कर्मचारी सरुवा मापदण्ड निर्माण अन्तिम चरणमा पुर्याएको पनि बताइन् । उनले भनिन्, “मन्त्री, सचिव र सहसचिवलाई भनसुन गरेर कर्मचारी सरुवा हुन्छ भन्ने मानसिकता अन्त्य गर्नु पर्छ । अब कर्मचारी सरुवा विधि र प्रक्रियाबाट मात्र हुन्छ ।”
प्रशासनिक अस्थिरता अन्त्य गर्ने गरी आफूले काम गर्ने योजना बनाएको बताउँदै मन्त्री न्यौपानेले तिनै तहमा सुशासन कायम गर्ने कार्य अहिले आफ्ना लागि प्रमुख चुनौती बनेको बताइन् । प्रेस चौतारी नेपालका प्रतिनिधिमण्डलसँगको भेटमा उनले सो विचार राखेकी हुन् ।






















