काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सुरुमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म अबधि रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















