काठमाडौं । ‘उद्यमशीलता मार्फत स्वतन्त्रताको ज्योति बाल्ने’ मूल नारासहित काठमाडौंमा लिबर्टी क्याम्प २०२५ सम्पन्न भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित रोयल भिल्ला रिसोर्टमा क्याम्प गरिएकाे हाे । ‘उद्यमशीलताको माध्यमबाट स्वतन्त्रताको ज्योति बाल्ने’ भन्ने मूल नारासहित आयोजित छ दिन लामो आवासीय क्याम्पमा देशभरिबाट छानिएका ३० जना ऊर्जाशील युवाहरूले सहभागिता जनाएका थिए।
क्याम्पमा सहभागीहरूले स्वतन्त्रताको आधारभूत सिद्धान्तहरू, उद्यमशीलता, वित्तीय साक्षरता, क्लासिकल लिबरलिज्म, सम्पत्ति अधिकार, ब्लकचेन प्रविधि, स्वतन्त्र शहरहरू, सार्वजनिक नीति, र नेपाल तथा विश्वको आर्थिक इतिहासजस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट प्रशिक्षण प्राप्त गरे।
‘केही राष्ट्रहरू धनी र अरू गरिब किन ?’, ‘कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट उदार विचारको सम्प्रेषण’, र ’२१औँ शताब्दीमा समानता बनाम स्वतन्त्रता’ जस्ता शीर्षकहरूमा सत्रहरूले सहभागीहरूलाई गहिरो सोच र संवादमा संलग्न गराए।
कार्यक्रममा व्यापार आइडिया प्रस्तुतीकरण, समूहगत छलफल र नीतिगत बहसजस्ता गतिविधिहरू समेत समावेश गरिएका थिए। सहभागीहरूले आफूले अनुभव गरेको सिकाइ र सञ्जाल विस्तारको अवसरप्रति उच्च सन्तुष्टि व्यक्त गरेका छन्।



क्याम्पले विभिन्न क्षेत्रका युवाहरूलाई आपसी संवाद र साझा अनुभवमार्फत नजिक ल्याएको थियो। गैर–आर्थिक पृष्ठभूमिका सहभागीहरूका लागि यो क्याम्पले स्वतन्त्रता, जिम्मेवारी र उद्यमशीलताको नयाँ दृष्टिकोण प्रदान गरेको थियो।
संगठकहरूको भनाइ अनुसार यो क्याम्पले भविष्यमा युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, र स्वतन्त्र समाजको निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
असार १३ देखि १७ (जुन २७ – जुलाई २) सम्म चलेकाे थियाे ।























