काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशन तथा खुला गरेको थप सार्वजनिक निष्काशन अर्थात् फर्दर पब्लिक इस्यू (एफपीओ) आवेदन दिने आज अन्तिम दिन हो । बैंकले जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको हो । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । त्यसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गरेको हो ।
सो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गरेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत एफपीओमा आवेदन दिन सक्नेछन् ।
एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।






















