Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरेका ८ जना उद्यमी नगद रकमसहित श्रम मन्त्रालयबाट पुरस्कृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका ८ जना उद्यमीहरूलाई उद्यमी राष्ट्रिय पुरस्कार तथा सम्मानबाट सम्मानित गरिएको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा प्रत्येक प्रदेशबाट १/१ जना गरी ७ जनालाई ७५ हजार रुपैयाँ नगदसहित उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो । त्यस्तै एक जनालाई १ लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा मन्त्रालयमा आयोजित कार्यक्रमले वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूको लागि राष्ट्रिय पुरस्कारले वैदेशिक रोजगारीमा गई पुनः स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पूँजीलाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा अधिकाधिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुऱ्याउन थप जागरुक एवम् प्रेरणा मिलोस् भन्ने मूल अभिप्राय लिएको मन्त्री भण्डारीले बताए । मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नै पुरस्कृत गरिएको सो अवसरमा जानकारी दिइएको थियो । मन्त्री भण्डारीले श्रमको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा राख्दै आन्तरिक उद्यमशिलता र रोजगारी प्रवद्र्धनमा सरकारले जोड दिएको धारणा राखे ।

कार्यक्रमका मन्त्रालयका सचिव पुष्करले वैदेशिक रोजगारमा जाँदैमा ब्रेन ड्रेन नहुने भन्दै विदेशको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा भित्र्याउने उच्च अवसर हुने धारणा राखेका थिए ।

कार्यक्रममा प्रत्येक प्रदेशको प्रतिनिधित्व रहने गरी जम्मा ७ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार स्वरूप नगद रु.७५,००० सहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो। जसअन्तर्गत आमा कृषि फर्म, उर्लाबारी, मोरङका राजिव खड्‌का, निम्तो एग्रो फार्म, जितपुर, बाराका शंकर सिम्खडा, वैतेश्वर रेण्ट एण्ड क्याटरिङ्ग सर्भिस, वैतेश्वर, दोलखाका कुमार श्रेष्ठ, वसन्त पोल्ट्री फर्म, भानु, तनहुँका वसन्त बहादुर खड्का, न्यू सन्ध्या होटल एण्ड रेष्टुरेण्ट र सासु बुहारी कृषि तथा पशुपालन फर्म, अर्घाखाँचीका शोभाखर पौडेल, देउती होजियारी उद्योग एण्ड ट्रेडिङ्ग सेन्टर, विरेन्द्रनगर, सुर्खेतका लक्ष्मी प्रसाद ढकाल र कैलपाल बहुउद्देश्यीय कृषि फर्म, पाटन, वैतडीका तर्क सिंह विष्टले पुरस्कार तथा सम्मानपत्र प्राप्त गरे ।

त्यसैगरी देशभरवाट उत्कृष्ट उद्यमीका रूपमा भूमिका सीपमूलक तालिम केन्द्र, दमक, झापाका रविन पोखेललाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार स्वरूप नगद रु.१,५०,००० सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

पुरस्कृत तथा सम्मान भएका उद्यमीहरूलाई छनौट गर्दा विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ ले तोकेबमोजिम रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरे/नगरेको, सामाजिक दायित्व बहन गरे नगरेको, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम संचालन गरेको भौगोलिक क्षेत्र गरी जम्मा ७ वटा मूल्याङ्कन सूचकलाई आधार लिइएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block