काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङ सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिलतर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकलतर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ । यस शैक्षिक सत्र २०८२ देखि बिइतर्फ कम्प्युटर इन्जिनियरिङ र आइटीको अर्को आयाम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) समेत संचालनको लागि पूर्वान्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको छ ।
नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पद्म बहादुर शाहीको प्रमुख आतिथ्यता, पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको ग्राजुएट ओरियन्टेसन कार्यक्रममा हिलसाइड कलेज अफ इन्जिनियरिङका फ्याकल्टीको भूमिकामा समेत रहेका पूर्व सचिव एवं जलस्रोत विज्ञ दिनेश घिमिरे, पूर्व सचिव रविन्द्र श्रेष्ठ, पूर्व सचिव मणिराम गेलाल, नाष्टका पूर्व भिसी प्रा.डा. सुनिलबाबु श्रेष्ठ लगायत लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नयाँ विद्यार्थीहरुलाई शुभकामना दिँदै प्रमुख अतिथि शाहीले गुणस्तर सम्बन्धमा काउन्सिलले अनुगमन, मूल्यांकन र नियमन गरिरहेको हुँदा कुनै गुनासो भए काउन्सिलमा सम्पर्क राख्न सकिने जानकारी गराए । ‘हिलसाइड कलेज अफ इन्जिनियरिङले न्यूनतम भौतिक पूर्वाधार लगायत काउन्सिलले तोकेका गुणस्तर तथा मापदण्ड पूरा गरेकोले नै काउन्सिलले स्थायी अनुमति प्रदान गरेको हो, मूलत: पढाउने फ्याकल्टीहरुमा हिलसाइड कलेजले उत्कृष्टता हासिल गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ, यसलाई निरन्तरता दिदै अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा रहेको छ,’ उनले भने ।
त्यसैगरी पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलरले भने, ‘हामी एकाडेमिक क्यालेन्डरलाई पूर्ण रुपमा लागू गर्न गराउन प्रतिवद्व छौं, इन्जिनियरिङतर्फ पनि हामी लगभग परीक्षा र रिजल्ट समयमै गर्न गइरहेका छौं । अब विद्यार्थीले ४ बर्षे कोर्ष ४ वर्षमै, २ वर्षे कोर्ष २ वर्षमै पूरा गरेर सर्टिफिकेट उपलब्ध गराउने अठोटका साथ अघि बढ्दैछौं तर यसका लागि फ्याकल्टीज, विद्यार्थी, अभिभावकज्यूहरुको सहयोग आवश्यक पर्दछ।’
त्यसैगरी पूर्व सचिव दिनेश घिमिरेले नेपालमा अहिले इनर्जी सेक्टरमा भइरहेको लगानी, इनर्जी निकासी र इनर्जी खपतको सन्दर्भमा हजारौं इलेक्ट्रीकल इन्जिनियर आवश्यक पर्ने भन्दै पूर्वान्चल विश्वविद्यालयको पाठ्यक्रमले त्यस्ता जनशक्ति उत्पादन गर्ने कार्यमा संबोधन गर्ने भएकोले आफूले जानेको ज्ञान पुस्तान्तरणको लागि हिलसाइडको फ्याकल्टी भएको जानकारी गराए । पूर्व सचिव मणीराम गेलाल, रविन्द्र श्रेष्ठले समृद्व नेपाल निर्माणका लागि कन्ष्ट्रक्सन क्षेत्र अपरिहार्य भएको र सो को व्यवस्थापन गर्ने जिम्मेवार जनशक्ति उत्पादन गर्न हिलसाइड कलेज अफ इन्जिनियरिङले सिभिल इन्जिनियर तथा विशिष्टिकृत अध्ययन मार्फत ग्राजुएट गराइरहेको र आफूहरूले जानेको ज्ञान एक्सचेन्ज गर्न पाउँदा प्राज्ञिक क्षेत्रको छुट्टै अनुभूति महसुस भएको जनाए ।
नाष्टका पूर्व भिसी प्रा.डा. सुनिल बाबू श्रेष्ठले रिसर्चमुखी अध्ययन अध्यापन गराउनेगरी एमएस्सी प्रोग्राम संचालन भइरहेको र यसको पाठ्यक्रम तर्जूमा देखि नै आफू संलग्न रहेकोले मुलुकको अबको दश बर्षसम्म कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रक्षेपणको आधारमा कोर्ष तयार पारिएकोले स्वदेश तथा विदेशमा प्राप्त गरेको अनुभव शेयरिङ गर्ने उद्वेश्यले हिलसाइड कलेज अफ इन्जिनियरिङसँग जोडिएकोमा आफूले गौरव गरेको जनाए ।
सबैलाई धन्यवाद ज्ञापन गर्दै हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपानेले भने, ‘अहिले नेपालमा १२ कक्षा सक्नासाथ अभिभावकलाई ४०–५० लाख ऋण बोकाएर विद्यार्थी विदेश जाने प्रचलन छ । गत वर्षसम्म पहिलो किस्ता मात्रै विदेश पठाउँथे त्यसपछि विद्यार्थीले कमाएर कलेजको फी(शुल्क) तिर्थे । अहिले उता काम नपाएर विद्यार्थी अलपत्र अवस्थामा परेका छन् र सबै शुल्क यताबाटै पठाउनुपरेको सन्दर्भमा ४/५ वर्षपछि पनि काम नपाएको खण्डमा सबै ऋण अभिभावकले नै तिर्नुपर्ने हुन्छ। यो बेला कतिको घरखेत पनि लिलाम हुनसक्छ। त्यसैले एनओसीमा कन्ट्रोल गरौं । स्नातक–स्नातकोत्तर तहमा अध्ययन गर्न जानेलाई मात्रै एनओसी दिऔं । तालिमको लागि भन्दै काम गर्न जो एनओसी बाँड्ने गरिएको छ, त्यो अबैध छ, तत्काल रोक्नुपर्छ ।’
हिलसाइड कलेज अफ इन्जिनियरिङले पढिसकेपछि कमाएर तिर्न मिल्ने ऋणको व्यवस्था माछापुच्छ्रे बैंकसँग सम्झौता गरेर कार्यान्वयनमा ल्याएको जानकारी दिँदै न्यौपानेले अब सिभिल र इलेक्ट्रिकल बाहेक कम्प्युटर र बिआइटी प्रोग्रामको लागि पनि यो स्कीम लागू हुने बताए ।
अतिथि तथा फ्याकल्टीको भूमिकामा रहेका काठमाडौं उपत्यका विकास प्राधिकरणका सहसचिव ई.नवराज गेलालले प्राधिकरणले उपत्यकाभित्र गरिरहेका विकास निर्माणका कामहरु, आगामी दिनका स्मार्ट सिटी, वैकल्पिक रिङरोड लगायतका योजनाहरुमा हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई जोड्न सकिने जानकारी गराए ।
यस अघि कन्ष्ट्रक्सन मेनेजमेण्ट कोअर्डिनेटर नेपाल सरकार भवन विभागमा लामो अवधी कार्य गरेका प्राज्ञिक व्यक्तित्व प्रमोदकृष्ण कर्मचार्य र इलेक्टीकल पावर इन्जिनियरिङका कोअर्डिनेटर डा. सुजन अधिकारीले आ–आफ्नो विषयको २ वर्षको कोर्ष स्ट्रक्चर र कलेजको बारेमा विद्यार्थीहरुलाई विस्तृत रुपमा जानकारी दिएका थिए । कलेजका प्रीन्सिपल डा. समित थापाले फ्याकल्टिज, कलेजका गतिविधिहरु, कलेजमा भर्ना भएका विद्यार्थी संख्या, पास रेटमा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए ।
सने अवसरमा कलेजका अध्यक्ष शिक्षाविद्व जनार्दन नेपालले भने, ‘मूल कुरा फ्याकल्टीजको व्यवस्थापन हो । त्यसमा पुरै ध्यान दिएका छौं, न्यूनतम पूर्वाधार अहिले पनि छ । ल्याबमा हामी १ नंबर नै छौं । हरेक बर्ष इन्टरनेशनल कन्फेरेन्स गर्ने गरिएको छ, यसबाहेक अतिरिक्त क्रियाकलापमा पनि हामी अगाडि नै छौं । इन्टर्नसिपको लागि धेरै वटा संस्थाहरुसँग एमओयु गरिएको छ । विद्यार्थीले ढुक्कसँग पढ्दा हुन्छ । हामी हाम्रा विद्यार्थीलाई दक्ष र योग्य बनाएर पठाउने कोसिसमा छौं ।’ विद्यार्थीले मेहनत, परिश्रम गर्दै कलेज र विश्वविद्यालयले बनाएको नियममा बसेर अध्ययन गर्न सके प्रतिफल राम्रो हुनेछ भन्ने अपेक्षा अध्यक्ष नेपालको छ ।
कार्यक्रममा हिलसाइड कलेज अफ इन्जिनियरिङको फ्याकल्टीजको रुपमा अन्य उच्च व्यक्तिहरुको उपस्थिति रहेको थियो।






















