कास्की । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना एवं सरकारवालाको उपस्थितिमा अनौपचारिक क्षेत्रको दूधलाई औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, नेपाल डेरी एसोसिएसनका सल्लाहकारहरु सुरेश बहादुर श्रेष्ठ, ज्ञानेन्द्र बजगाई, केन्द्रीय सचिव शिवहरी आचार्य, केन्द्रीय सदस्य नवराज तिमल्सिना, बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, डेरी उद्योग संघका प्रतिनिधि दशरथ सिलवाल, खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि दिनेश श्रेष्ठ, कृषि मन्त्रालयका प्रतिनिधि एवं सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुत भएका थिए। ती कार्यपत्र नेपाल डेरिएसनका अध्यक्ष प्रल्लाद दाहाल, राष्ट्रिय दूध विकास बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी, कास्की जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष पुण्य प्रसाद पौडेलले प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि आधा दर्जन व्यक्तिले टिप्पणी गरेका थिए।
कार्यक्रममा खाद्य तथा नियन्त्रण विभागका प्रतिनिधि दिनेश श्रेष्ठले खाद्य पदार्थ सधैँ स्वच्छ र गुणस्तरयुक्त हुनुपर्ने कुरा राखेका थिए भने नेपाल डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष ईश्वरी न्यौपानेले दूध तथा दुग्धपदार्थ सधैँ औपचारिक क्षेत्रमै उत्पादन हुनुपर्ने विचार व्यक्त गरेका थिए। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर कुँवरले किसानले दुःख गरेर उत्पादन गरेको दूधको पैसा उद्योगीले समयमै दिनुपर्ने विचार राख्दै जति सक्दो चाँडो किसानको भुक्तानी गर्न सबै उद्योगीहरुलाई आग्रह गरेका थिए । डेरी उद्योग संघका प्रतिनिधि दशरथ सिलवालले अनौपचारिक क्षेत्रमा दूध बिक्री वितरण भइरहँदा राज्यले ठूलो हिस्साको कर गुमाइरहेको कुरा बताए । कार्यक्रमका सभापति एवं राष्ट्रिय विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले हामी सबै सरकारवालाहरु अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा लाग्ने कुरा एक आपसमा छलफल गरी यसको निकासा निकाल्नुपर्ने कुरा बताए । सो कार्यक्रमको सञ्चालन केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले गरेका थिए। कार्यक्रममा स्वदेशी उत्पादन उपभोग गर्ने कुरामा प्राथमिकता दिइए अनुसार दही, चिउरा, दुध, आइसक्रिम सेवन गराइएको कुरा शिवहरी आचार्यले जानकारी गराएका थिए ।






















