काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरमा चार दिन पछि देखि सवारी साधन सञ्चालन हुने भएको छ । फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।
आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाट सवारी साधन सञ्चालन गरिने भएको हो ।
गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भए पछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए ।
निर्माण कार्यमा ढिलाई भएपछि मन्त्री दाहालले फ्लाई ओभरको पटक–पटक निरीक्षण र अनुगमन गर्दै आएका छन् ।























