काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो प्रभावकारी ‘राइड्स फर गोल्स’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। सार्वजनिक विद्यालयको खेल मैदानलाई रुपान्तरण गर्नु र युवा विद्यार्थीहरूको खेलकुद सहभागिता प्रवद्र्धन गर्ने उद्देश्य रहेको अभियान सफलतापूर्वक सम्पन्न भएको हो ।
अभियानअन्तर्गत काठमाडौंका दुई विद्यालयहरु यूनिक मदर्स स्कूल र माइलस्टो यूथ स्कुलको खेलमैदान मर्मतसँगै सुधार र खेलकूद सामग्री हस्तान्रण गरी सम्पन्न भएको काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले जानकारी दिएको छ ।
अंग्रेजी मे महिनाभरि आयोजना भएको यस अभियानले प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत चयन गरिएका सार्वजनिक प्राथमिक विद्यालयहरूमा खेल मैदानहरू मर्मत गर्न र आवश्यक खेलकुदका किटहरु प्रदान गर्न योगदान पुर्याएको काठमाडौंमा कार्यक्रम गरी कम्पनीले जानकारी दिएको हो । यी सङ्कलनहरू खेल मैदानको पूर्वाधारको मर्मत संभार र सुधार गर्न, सुरक्षित र आकर्षक मनोरञ्जनात्मक स्थानहरु सिर्जना गर्न, सानै उमेरदेखि शारीरिक गतिविधि र खेल संलग्नतालाई प्रोत्साहन गर्नका लागि बास्केटबल, फुटसल बल र ब्याडमिन्टन ऱ्याकेटहरूसहित स्पोर्ट्स किटहरु वितरण गर्न प्रयोग गरिएका थिए ।
‘इनड्राइभमा हामी विश्वास गछौँ कि मोबिलिटीले समुदायहरूलाई सशक्त र उत्थानशील बनाउनु पर्छ। ‘राइड्स फर गोल्स’ ले राम्रो खेल वातावरणमार्फत स्कूलका बालबालिकाको स्वास्थ्य र विकासलाई प्रत्यक्ष रूपमा समर्थन गरेर सामाजिक प्रभावप्रतिको हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ,’ इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, ‘हामी बालबालिकाहरूले टिम वर्क सिक्न, आत्मविश्वास निर्माण गर्न र खेलमार्फत अगाडि बढ्न सक्ने ठाउँहरू सिर्जना गर्नका लागि सहयोग गर्न पाउँदा गर्व गर्छौँ।’
इनड्राइभ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टोलीले थपे, ‘यो पहल यस कुराको एउटा उत्कृष्ट उदाहरण हो कि कसरी दैनिक गतिविधिहरु जस्तै राइड गर्नुले एक ठोस भिन्नता ल्याउन सक्छ। हामी समुदायहरूमा दिगो मूल्य सिर्जना गर्ने परियोजनाहरूका लागि प्रतिबद्ध छौं, र ‘राइड्स फर गोल्स’ प्रत्येक बालबालिकालाई खेलमार्फत आनन्द र फाइदाहरुसम्म पहुँच छ भनी सुनिश्चित गर्ने दिशामा केवल एक कदम हो।’
‘राइड्स फर गोल्स’ पहल सामाजिक समानतालाई प्रवर्धन गर्ने र आफूले सेवा गर्ने समुदायहरूमा विशेष गरी न्यून सेवा प्राप्त र विकासशील क्षेत्रहरूमा सकारात्मक योगदान पुऱ्याउने इनड्राइभको व्यापक मिशनको हिस्सा भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा जर्सी हस्ताक्षर कार्यक्रम गरिएको थियो । कार्यक्रममा आफ्नो भनाइ राख्दै यूनिक मदर्स स्कूलका अध्यक्ष भक्त लामाले कम्पनीको सहयोगप्रति आभार व्यक्त गरे । ब्याडमिन्टन र बास्केटबल कोर्ट खेलमैदानको स्तरोन्नति एवं खेल सामग्री वितरण कार्य गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि निरन्तरको साथ र सहयोगको अपेक्षा गरे ।























