काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना प्रतिवादीबाट ३३ करोड ४८ लाख माग दाबी गरेर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा ३३ करोड बढी बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । उनीहरुले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।
बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ नोक्सानी गरेको देखिएकाले रकम असुल उपर गर्नसमेत अख्तियारले माग दाबी गरेको छ। नेपाल टेलिकमबाट प्रतिष्पर्धा बिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो। २०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनी एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा तीन अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो।






















