काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)अन्तर्गतको पर्यटन श्रमिक संगठन यूनिट्राभद्धारा जलवायु परिवर्तन र सामाजिक सुरक्षा विषायक अन्तक्रिया एवं सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षामा आबद्ध हुनुपर्ने विषय, त्यसले दिनसक्ने फाइदा र त्यसको आवश्यकताका बारेमा पर्यटन श्रमिकहरुलाई प्रष्ट पार्ने काम गरिएको हो ।
कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वातावरण दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । उनले जीवन सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा गर्नुपर्ने ठोकुवा गर्दै जिफन्टले यस विषयमा निरन्तर सचेतना चलाइरहने जानकारी दिए। नयाँ प्रविधिमैत्री दुनियाँ भइसकेको अवस्थामा त्यही अनुरुप श्रमिकहरु चल्नुपर्ने आवश्यकतामा उनले जोड दिए । एकता, सहकार्य र संघर्षसँगै व्यवसायी र श्रमिक अगाडि बढ्ने भन्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनको ब्यानर टाँगेर पैसा असुल्नेप्रति खबरदारी गर्न पयटन श्रमिकहरुलाई निर्देशन दिए ।

कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डेले सामाजिक सुरक्षामा जान टान प्रतिबद्ध रहेको धारणा राखे । उनले यसका लागि व्यवसायीलाई सचेतना कार्यक्रम चलाउने जानकारी गराए।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपालले सामाजिक सुरक्षामा सबै आबद्ध भएपछि देशमा वृद्धाश्रम नै बन्द हुने दाबी गरे । उनले २०८२/०८३ को नीति तथा कार्यक्रमले सामाजिक सुरक्षामा आबद्ध नभए ट्रेकिङ एजेन्सी नविकरण नहुने व्यवस्था गरेको भन्दै सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदाका फाइदा एवं अवसरका विषयमा प्रशिक्षण दिएका थिए ।
यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले २० वर्षको अन्तरालमा हिमालहरु कालापत्थरमा परिणत भएकोमा चिन्ता व्यक्त गरे । उनले जिफन्टसँग मिलेर यूनिट्राभले हिमाल सरसफाई र वातावरण संरक्षणमा काम गर्दै आएको सो अवसरमा जानकारी गराए । पछिल्लो समय सामाजिक सुरक्षा कोषले श्रमिकको सुरक्षा गर्छ भन्ने सचेतना बढ्दै गएको भन्दै उनले नीति, नियम, कानुन बुझेर र बुझाएर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । सो अवसरमा अध्यक्ष पराजुलीले ट्रेकिङमा कायम टिम्सलाई प्रणालीगतरुपमा लैजान वा नसके बन्द गर्न आग्रह गरे ।
कार्यक्रममा यूनिट्राभका महासचिव राम बहादुर श्रेष्ठले कार्यक्रमको विषयमाथि प्रष्ट पारेका थिए ।






















