काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा. पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । यस्तै उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित भएका छन् ।
यस्तै निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा. शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।
२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको थियो । हाल यस महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरु आवद्ध रहेको महासंघले जनाएको छ । यसमा स्वास्थ्यसम्बन्धी सामान्य तालिम प्राप्तदेखि विशेषज्ञ स्वास्थ्यकर्मीहरु आवद्ध भएका छन् ।
महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि महासंघ निरन्तर सङ्घर्षरत रहेको छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धी कानून, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको छ ।
महासंघका ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा विशेष जिल्ला, ८ वटा घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटि र अन्य कमिटि गरि ४०० भन्दा बढी कमिटिहरु गठन भइसकेको छ । हजारौं स्वास्थ्यकर्मीहरु सदस्य भएको यो नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित सङ्गठित संजाल भएको ठूलो संगठन भएको दाबी गरिएको छ ।

गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए ।






















