काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै एक अर्काविरुद्ध आक्रमण रोक्ने सहमति पुष्टि गरेपनि पूर्ण कार्यान्वयन नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
युद्धविराम शनिबार साँझ ५ बजेदेखि लागु भएको भारतीय विदेश सचिव विक्रम मिश्रीले पुष्टि गरेपनि यसको पूर्ण कार्यान्वयन नभएको र कतिपय स्थानमा गोलाबरी जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका हुन् । दुवै देशले जमिन, आकाश र समुद्रबाट एक अर्कामाथि आक्रमण नगर्ने भनेपनि यो नरोकिएको हो ।
यता भारत र पाकिस्तानबीच सोमबार दिउँसो १२ बजे दुई पक्षीय वार्ता हुने समझदारी पनि बनेको छ ।
युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको बताइएको छ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् ।
अप्रिल २२ मा भारतीय प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणबाट दुई देशबीच द्धन्द निम्तिएको थियो, आक्रमणमा २६ जना हिन्दू पर्यटकहरु मारिएका थिए । भारतले यस आक्रमणको दोष पाकिस्तान समर्थित आतङ्ककारी समूहहरूलाई दिएको छ, यद्यपि पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आएको छ ।





















