काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण कुनै एक निकायको मात्र सरोकार नरहेको बताएका छन् । सडक विभागसँगको सहकार्यमा सडक साथीले गरेको एक कार्यक्रममा उनले यो बहुपक्षीय र बहुसरोकारवाला विषय भएकाले सबै क्षेत्रहरुको समन्वय आवश्यक रहेको बताए ।
सडक सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षित संरचना निर्माण, प्रभावकारी कानून निर्माण तथा कार्यान्वयन, दर्विलो नियमन लगायतका विषयहरु कुनै एक मन्त्रालय वा निकायको क्षेत्राधिकारभित्र मात्र नरहेको उनले उल्लेख गरे । ‘हामीले धेरैभन्दा पनि सुरक्षित सडक बनाउन आवश्यक छ, त्यस तर्फ हामी लागि सकेका छौं’ मन्त्री दाहालले भने, ‘तर दुर्घटनाको कारक सडक मात्र नभएर मानवीय त्रुटी, यान्त्रिक गडबडी, प्रतिकुल मौषम, लापर्वाही, सडक तथा सवारी नियमबारे जानकारीको अभाव जस्ता विषयहरु पनि रहेकाले सबै पक्षको सहकार्यमा यसतर्फ लाग्न जरुरी भई सकेको छ ।’
सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि उच्च भारका सवारी साधन सञ्चालनमा कडाई गरिएको, सडक मर्मतलाई नियमित र प्रभावकारी बनाईएको, योजना तर्जुमा गर्दानै सडक सुरक्षालाई प्राथमिकतामा राख्ने गरिएको भन्दै उनले पैदलयात्रीहरुमा समेत सडक सुरक्षा र नियमबारे जानकारी गराउन आवश्यक रहेको बताए ।
कार्यक्रममा विभिन्न सडक विभागका महानिर्देशक रामहरी पोखरेलसहित विभिन्न विज्ञहरुको प्यानलमा सडक सुरक्षा तथा सरोकारका विषयमा छलफल समेत गरिएको संस्थाका संस्थापक निपुर्ण न्यौपानेले जानकारी दिए ।





















