ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

भू–उपग्रह (स्याटेलाइट) माध्यम प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवाहरु प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा काठमाडौंमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारणका अवसरमा उक्त सम्झौता भएको हो । भू–उपग्रह (स्याटेलाइट) माध्यम प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको हो ।

नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडका अनुसार यस सम्झौताबाट नेपालले धेरै फाइदा लिन सक्नेछन् । उनका अनुसार नेपालले लिनसक्ने फाइदाहरु यसप्रकार छन् ।

क) कृषिबजार सूचना र विश्लेषणः नेपालको कृषि वस्तुहरूको मूल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक र मासिक रिपोर्टहरूमार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ ।

ख) कृषि वस्तु अनुसन्धान र परामर्शः कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण र बजार प्रवृत्तिहरू समावेश छन् ।

ग) कृषि निवेश अध्ययन र सल्लाहः बीउ, मल र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त बाली छनोट गर्न मद्दत गर्दछ ।

घ) डिजिटल कृषि समाधानहरूः डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउनुपर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।

ङ) कृषि समाचार र जानकारीः एग्रीवाचले कृषिसम्बन्धी ताजा समाचार, वस्तु मूल्यहरू र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रहेको थियो । भारत सरकारले कृषि क्षेत्रको प्रवद्र्धन र कोटा निर्यात लगायत कृषिसँग सम्बन्धित विषयमा एनसेललाई पूर्णअधिकार प्रत्यायोजन गर्ने हुँदा भारतको औद्योगिक वस्तु निर्यातमा निर्यातको ठूलो हात रहेको छ । भारतले नेपाललाई दिएको २ लाख टन गहुँ लगायत विगतमा चिनी लगायतका खाद्यान्न नेपाल आयात गर्दा एनसेलमार्फत नै आयात गरिएको थियो । एनसेल र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्यअनुरुप प्रबन्ध निर्देशकलाई संघको विषेश अनुरोधमा नेपाल आमन्त्रण गरिएको हो । सो अवसरमा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Health Tips Ad Road Block