ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

विवाद बढिरहेका बेला परराष्ट्र सचिव राईले भने–सशक्त, एकीकृत र बलियो एनआरएनए बनाउनुस् !

काठमाडौं । परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पछिल्लो समय देखा परेको विवादास्पद अवस्थाको अन्त्यका लागि परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसँगको भेटमा परराष्ट्र सचिव राईले संघको महत्व आफैँमा पृथक रहेको भन्दै संस्थामा देखा परेको समस्या समाधानका लागि आफू तालुकदार मन्त्रालय भएको हिसाबले पनि सकारात्मक पहल गरिरहेको बताए । उनले भने, “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ, जो सँग सरकारले सहकार्य र समन्वय गर्न सकोस् ।”

त्यसअघि संघका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले वर्तमान विवादको मुल कारण, शेष घले पक्षले एकतर्फी रुपमा गर्न लागेको महाधिवेशन र त्यसमा परराष्ट्र मन्त्रालयको भूमिका सन्दर्भमा धारणा राखेका थिए । अध्यक्ष डा. केसीले आफूहरुले हरसम्भव प्रयास गर्दापनि ११ औँ कार्यसमितिलाई चिन्दै चिन्दैनौँ भनेर घले नेतृत्वको उच्चस्तरिय समितिले संवादको ढोका नै बन्द गरिदिएको उल्लेख गरे ।

उपाध्यक्ष डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयले वैशाख ५ गते महाधिवेशन सार्न गरेको पत्राचार र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी गराए । उनले भने, “बैशाख ५ गते परराष्ट्र मन्त्रालयले एकताको महाधिवेशनलाई ६ महिनापछि सार्न पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले एकताको वातावरण निर्माणका लागि गरेको यो पहलप्रति म व्यक्तिगत रुपमा पनि धन्यवाद दिन चाहान्छु । मलाई आशा छ, सम्मानित सर्वोच्च अदालतले पनि परराष्ट्र मन्त्रालयको पत्रलाई स्वीकार गरि एकताको वातावरण बनाउन सहयोग पुर्याउनेछ ।”

सोही अवसरमा अध्यक्ष डा. केसीले नागरिकताको कार्यान्वयन लगायत आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वय गैरआवासीय नेपाली ऐनसँग पनि जोडिने भएकोले उक्त ऐन यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरे ।

जवाफमा परराष्ट्र सचिव राईले ऐनको मस्यौदामा हाल राय तथा परामर्ष लिने काम भइरहेको जानकारी गराए । उनले भने, “हामीले अहिले विभिन्न मन्त्रालयसँग सुझाव लिइरहेका छौँ तपाईहरुले पनि कस्तो ऐन चाहेको हो हामीलाई मस्यौदा तयार गर्न म अनुरोध गर्छु । सबै आफूले चाहेजस्तो त नहोला तर हामी सकेसम्म सबै पक्ष समेटिने गरेर ऐन बनाउन चाहान्छौँ ।”

भेटमा अध्यक्ष डा. केसी, उपाध्यक्षत्रय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, राज रेग्मी, उप–महासचिव प्रविन गुरुङ, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी लगायत थिए ।

Health Tips Ad Road Block