skip this News Page Tips Ad Road Block

अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउन थालेपछि..

Citizenlife ad 2082 falgun to baishak 2083

दोलखा । जिल्लाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन अपर पाँचौँ जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयबासीहरूलाई धम्क्याउने र थर्काउने गरेको पाइएको छ ।

बिगु गाउँपालिका–१ लामाबगरस्थित गोंगरका क्रसरपीडित आन्दोलित स्थानीयले जारी गरेको एक विज्ञप्तिअनुसार आयोजनाले स्थानीयलाई धम्क्याउने र थर्काउने गरेको पाइएको हो ।

‘तामाकोशी पाँचौँ आयोजनाले स्थानीयका जायज मागहरू सम्बोधन गर्नुको साटो क्रसर प्लान्ट पीडित आन्दोलित हामी स्थानीयहरूलाई आयोजनाले अमुक शक्तिहरू प्रयोग गरी थर्काउने, धम्क्याउने र जायज मागहरूलाई नाजायज हो भनी परिभाषित गर्न चलखेल गरेकोप्रति यस गोंगर बजारका क्रसर पीडित स्थानीय बासिन्दाहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । आयोजनाले सञ्चालन गरेको क्रसर प्लान्टबाट प्रत्यक्ष प्रभावित स्थानीयहरूले राखेका विभिन्न मागहरू पूरा गर्न छोडेर आयोजनाले स्थानीयहरूलाई धम्क्याएर काबुमा राख्न खोजेको आरोप उनीहरूको छ ।

आयोजनाले यस्ता हर्कतले स्थानीयलाई थप आक्रोशित र उत्तेजित बनाइरहेको भन्दै उनीहरूले खराब परिस्थिति सृजना हुनसक्ने चेतावनी समेत दिएका छन् । ‘आयोजनाको यस्ता हर्कतहरूले स्थानीयहरू झनै उत्तेजित–आक्रोशित भइरहेका छन् । यस्तै हर्कतहरू आयोजनाले जारी राखे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार आयोजना हुनुपर्ने जानकारी गराईन्छ,’ उनीहरूले भनेका छन् ।

स्थानीयको माग पूरा नगरेको भन्दै पीडितहरूले वैशाख ३ गतेदेखि आयोजनाको क्रसर प्लान्टका सम्पूर्ण कामहरू ठप्प पारेका छन् । क्रसर पीडित स्थानीयको मागहरू पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने संघर्ष समितिका संयोजक डिल्ली बहादुर मगरले जानकारी दिए ।

स्थानीयहरूले क्रसर सञ्चालनबाट वातावरण तथा स्थानीय बासिन्दाहरूको स्वास्थ्यमा परेको समस्याको समाधान, स्थानीयको निजी आवासमा परेको–परिरहने क्षति–असरको उचित क्षतिपूर्ति, क्रसरपीडित स्थानीयहरूलाई रोजगारी, गोंगर बजारलाई नदीबाट सुरक्षाका लागि तामाकोशी नदीमा तटबन्धन, गोंगर बजारदेखि क्रसर प्लान्ट रहेको स्थानसम्म (करिब १ किमि) सडक ढलान, गोंगर बजारका लागि खानेपानीको व्यवस्थालगायतको माग राखेका छन् ।

उल्लेखित मागका सम्बन्धमा आयोजनाले गत चैत २१ गते स्थानीयसँग सहमति जनाएको थियो । माग पूरा गर्न आयोजना स्वयम्ले एक हप्ताको समय मागेको थियो । तर, समयावधि सकिँदासम्म पनि स्थानीयको माग पूरा गर्ने विषयमा आयोजना इमानदार नभएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।

Health Tips Ad Road Block