Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि काठमाडौंमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरकाे निःशुल्क परीक्षणसँगै उपचार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १२ गते (आज) देखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरकाे निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ । स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट परीक्षणको प्रक्रियाका विषयमा जानकारी दिँदै भन्छिन्, ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिन्छ ।’ स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे भट्ट भन्छिन्, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

गएको वैशाखमा सम्पन्न शिविरले देखाएको अवस्था

२०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको निःशुल्क परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखिएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराउनुभएको थियो । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो । उनीहरुमध्ये ४५३ जनामा क्यान्सर पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकोमा ३२८ सम्पर्कमा आएर परीक्षण गराए । त्यसपछि ३२८ जनाको वायोप्सी गरियो । यसरी वायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आयो । १६१ जनामा सिआइएन वान, २४ जनामा सिआइएन टु र १४ जनामा सिआइएन थ्री देखियो । ३ जनामा भने क्यान्सर भइसकेको देखिएकोले थप उपचारका लागि पठाइयो ।

महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।

क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए ।
८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिस गरिएको थियो ।

ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. न्यौपानेको सुझाव छ ।

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

Health Tips Ad Road Block