तनहुँ । पृश्वि राजमार्गअन्तर्गत तनहुँको खण्ड विस्तारकाक्रममा आंशिकरुपमा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द गरिने भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको कार्यलाई तीव्रता दिनको लागि बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारीले जानकारी दिएका छन् ।
यसअनुसार विमलनगर बजारदेखि नयाँ पुलसम्म करिब ५०० मिटर सडक खण्ड शुक्रबारबाट एक महिनासम्म आंशिक रूपमा बन्द गरिनेछ । चैत ९ गतेसम्म आवश्यकता अनुसार समय–समयमा ४५ मिनेट देखि १ घण्टा सम्मका लागि उक्त खण्ड बन्द गरिने मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्डले एक सूचनामार्फत जानकारी दिएको छ ।
यसरी आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलहरूले वैकल्पिक मार्ग गोरखाको पालुङटार नगरपालिकामा पर्ने बिमलनगर–मर्स्याङ्दी पुल–कुमाल गाउँ–नयाँ पुल पुलेको प्रयोग गर्न सूचित गरिएको छ । ठूला सवारी साधनहरूले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न, सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न तथा निर्माण स्थलमा फ्ल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्न पनि आयोजनाले भनेको छ ।
आकस्मिक अवस्थाका अत्यावश्यक सवारी साधनहरूलाई विशेष व्यवस्था गरी सवारी आवागमन सहज गराइने सूचनामा उल्लेख छ ।























