काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आज कार्यालय समयसम्ममा आवेदन दिनुपर्नेछ ।
कम्पनीको जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता साधारण शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।






















