Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रचण्डले सम्झिए देशलाई आत्मनिर्भर बनाउने कुरा, भाषणमा जनतालाई उचाल्ने कि काम पनि गर्ने ?

Citizenlife ad 2082 falgun to baishak 2083

गुल्मी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने कुरा सम्झिएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकामा सहिदहरुको शालिक अनावरण गर्दै प्रचण्डले देशलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा राखेका हुन् ।

जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने भनाइ राखे । आफूलाई बचाउ गर्दै प्रचण्डले भने, ‘एकथरिले मुलुकमा केही भएकाे छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ । तर जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् । अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बेला आएको छ ।’

आफू सत्तामा हुँदा यी र यस्ता विषय कति अगाडि बढे त्याे समीक्षा हुँदै गर्ला तर प्रचण्डले हजारौं युवाहरु विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै देशभित्रै रोजगारी सृष्टि गरेर विदेश जान बाध्य युवाहरुलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरुले योजनाबद्ध पहल थाल्नुपर्ने बताए । ‘हामी जति जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं’ उनले भने, ‘अब हामीले राजनीतिक रुपमा पनि समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं, हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रुपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा बढाउनुपर्ने बेला आएको छ ।’

स्थानीय तहबाट उत्पादन वृद्धिका कार्यक्रम सुरु गर्ने गरी पार्टीले योजनाबद्ध पहल थालेको उनले आश्वासन दिए । अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको राजनीतिक प्रतिवेदनमै स्थानीय विशेषतामा आधारित उत्पादन वृद्धिका कार्यक्रममार्फत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई जोड दिएको बताए । ‘हामीले ५० वर्षअघि खाद्यान्न निर्यात गर्थ्यौं तर अहिले आयातमा गर्ने अवस्थामा पुगेका छौं’ उनले भने, ‘आफ्नो खेतबारी बाँझो छाडेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ, यसको मुख्य कारण उत्पादन वृद्धिमा राज्यको योजनाबद्ध पहल नुहनु नै हो । अब हामी फेरि आत्मनिर्भरताको अभियानमा केन्द्रित हुनुपर्ने बेला आएको छ । खाद्यान्न आयात होइन निर्यात गर्ने दिन फर्काउनुपर्ने बेला आएको छ ।’

कृषि र कृषिजन्य उत्पादनसँगै शिक्षा क्षेत्रलाई देशमा आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए । हामीकहाँ केही पनि छैन भनेर नयाँ पुस्तालाई अध्ययनदेखि रोजगारीमा समेत विदेश जानुपर्छ भन्ने परनिर्भर मानसिकताको विकास गराउन थालिकोमा चिन्ता व्यक्त गर्दै उनले आफ्नै माटोको उत्पादनलाई जोड दिने देशभक्तिपूर्ण भावनाको विकासका लागि पनि शिक्षा क्षेत्रले ध्यान दिनुपर्ने बताए ।

अमेरिकाले थालेको आप्रवासी निष्काशन कार्यक्रम, मध्यपूर्वमा देखिएकाे तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरु वैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आँकलन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समेत हामी तयारी अवस्थामा बस्न आवश्यक रहेको बताए ।

आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै यी परियोजनाबाट गुल्मी लगायतका जिल्ला लाभान्वित भएको भन्दै उनले नागरिक एवं कार्यकर्तालाई उक्साउन पनि भ्याए । त्यस्तै आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा सालझण्डी–ढोरपाटन सडकमा पनि राम्रो बजेट छुट्याएको स्मरण गराउँदै उनले सबै गाउँपालिका केन्द्र जोड्ने सडकका लागि पनि आफूले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे ।

प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्छ

प्रचण्डले गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्ने धारणा पनि राखे । राजनीतिक दाउ सेक्न माहिरजस्ता आरोप खेप्ने गरेका प्रचण्डले सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको समानीकरणको बजेट कटौती गरेकोमा आपत्तिसमेत जनाए । यो रकम बढाउनुपर्नेमा घटाउनु सरकारको उल्टो बाटो भएको उनको टिप्पणी छ ।

उनले जनतामाझ सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको पनि भन्न भ्याए । आफूले सत्तामा वा सत्ताबाहिर रहँदा कति काम गरे या गरेनन् त्याे पनि समीक्षा हुँदै गर्ला तर प्रचण्डले विकास निर्माणका कार्यहरुमा सबै दल एकै ठाउँ बस्नुपर्ने उल्लेख भने गरे ।

अध्यक्ष प्रचण्डले मालिका गाउँपालिकाले निर्माण गरेको हेलिप्याड र पार्कको पनि उद्घाटन गरे । प्रचण्ड हाेस् या अरु नेता जाे काेहीले पनि भाषणमा मात्रै हाेइन साँच्चै काम गरेर देखाउनुपर्ने बेला भएकाे छ ।

Health Tips Ad Road Block