काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ अघि बढेको छ ।
बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त विधेयक पेश गरेका थिए । सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबारको बैठकबाट अघि बढे भएसँगै यसको प्रकृया अघि बढेको हो ।

बैठकमा सांसदहरुले आ–आफ्नो धारणा समेत राखेका छन् । सांसदहरु भगवती न्यौपाने, डा. बेदुराम भुषाल, तुलसाकुमारी दाहाल, गोपीबहादुर अछामी, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोईराला, सुरेशकुमार आले मगर, पदमबहादुर परियार र सुमित्रा बिसीले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै आ–आफ्नो धारणा राखे ।
सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री दाहालले पानी जहाज दर्ता ऐन, २०२७ मा समुद्रमा नेपाली पानी जहाज सञ्चालनको आधार नरहेकाले नयाँ विधेयक ल्याईएको बताए । विधेयकले समुद्रमाथि भूपरिबेष्ठित देशहरुको समेत अधिकार रहेको र त्यसको उपयोगका लागि कानूनी धरातल तयार पार्ने उनले उल्लेख गरेका छन् ।
यो विधेयक पारित भई कानूनको रुपमा आए पछि समुद्रहरुमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनको ढोका खुल्ने छ । यस्तै नेपाल भित्रका नदी तथा जलाशयहरुमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरु नियमन र व्यवस्थापनका लागि समेत कानूनी आधार तयार हुने छ ।
आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिए पछि ‘विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरिएको थियो । प्रस्तावमाथि कसैले पनि असहमति नजनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत पारित भएको घोषणा गरे ।
राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो १ः१५ बजे बस्ने कार्यसूचि छ ।






















