काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि आठौँ चरणको चेम्बर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । सफ्टवेयर र एआई प्रोजेक्टसहित आठौँ नेपाल चेम्बर एक्स्पो आजदेखि २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताएका छन् । चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गरेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आर्कषणका रुपमा यो वर्ष सफ्टवेयर र एआई प्रोजेक्ट रहेको छ ।
एक्स्पोबारे जानकारी दिँदै चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन् । केही वर्षमै खर्बौंको निर्यात गर्न सकिने क्षेत्र भएकाले आइटी क्षेत्रलाई चेम्बरले महत्वका साथ अगाडि बढाएको उनले बताएका छन् ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिएका छन् ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिएका छन् ।
चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। युवालाई उत्प्रेरणा र देशलाई नै आइटी हब बनाउने सुरुवातकोरुपमा यो एक्स्पोमा आइटीलाई ध्यान दिइएको उनले जानकारी दिएका छन् । सरकारले उपयुक्त नीति बनाइदिने हो भने नेपाललाई डाटा सेन्टरको हब बनाउन सकिने उनले बताएका छन्।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, होम एप्लायन्स, लजिस्टिक, टेक्स्टाइल, फर्निचर, गार्मेन्टस, लेदर गुड्स, ज्वेलरी आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रोडक्ट्स लगायत सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास चेम्बरको छ । चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाएका छन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिएका छन् । ५ दिनसम्म चल्ने एक्स्पो ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बर मेलामा व्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङक तथा एजुकेशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् ।






















