काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विभिन्न आयोजनाका लागि प्रस्ताव माग गरेको छ। आयोगले एक सूचना जारी गर्दै समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने त्यस्ता आयोजनाका लागि सबै प्रदेश र स्थानीय तहबाट प्रस्ताव माग गरेको हो ।
समपूरक अनुदानसम्बन्धी कार्यविधि–२०८१ र विशेष अनुदानसम्बन्धी कार्यविधि–२०८१ मा व्यवस्था भएबमोजिम आयोजनाको प्रस्तावसहित विवरण तयार गरेर फागुन १५ गतेभित्र आयोगमा पठाउन भनिएको छ । प्रस्ताव पेस गर्दा हाल सञ्चालनमा रहेका आयोजना वा कार्यक्रमसँग दोहोरो नपर्ने किसिमका मात्र प्रस्ताव पेस गर्नुपर्ने आयोगले जनाएको छ । संघ र सम्बन्धित प्रदेश तथा स्थानीय तहको समान लगानीका आयोजना छनोट गरिने समपूरक अनुदान अन्तर्गत कृषि पूर्वाधार, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, फोहोरमैला प्रशोधन र व्यवस्थापन, शैक्षिक पूर्वाधार, पर्यटन पूर्वाधार, मध्यवर्ती क्षेत्र विकास पूर्वाधार, ऊर्जा, विज्ञान तथा प्रविधि विकास पूर्वाधार, स्वास्थ्य पूर्वाधार र सडक पूर्वाधार लगायत क्षेत्रका आयोजना प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख छ ।
आयोगका अनुसार समपूरक अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना वा कार्यक्रमको पूर्वतयारी सम्पन्न भएको हुनुपर्ने छ । त्यस्तै आगामी आवका लागि यसअघि समपूरक अनुदान प्राप्त गरी कार्यान्वयन भइरहेका र सम्पन्न हुन बाँकी आयोजना वा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर बजेट उल्लेख गरी आयोजना प्रस्ताव गर्नुपर्ने छ । क्रमागत आयोजना वा कार्यक्रमका लागि रकम प्रस्ताव गर्दा कुल लागत, ठेक्का अंक, अहिलेसम्मको निकासा रकम र वित्तीय तथा भौतिक प्रगतिसम्बन्धी विवरण खुलाउनुपर्ने सूचनामा उल्लेख छ ।























