Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकको अध्ययनः नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत, यस्ता छन् अरु सूचक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८८ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिबिधि अध्ययन २०८०/०८१ सार्वजनिक गर्दै उक्त विषय जनाएको हो ।

कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययनको लागि यस प्रदेश अन्तर्गतका सबै १४ जिल्लामा भएका कृषिबाली तथा पशुपन्छीको उत्पादन, मत्स्यपालन, सिँचाइ, वन, औद्योगिक उत्पादन तथा उत्पादकत्व, बैंकिङ तथा वित्तीय सेवा र वित्तीय सञ्जालको अवस्था, पूर्वाधारको विद्यमान अवस्था, ती क्षेत्रहरूमा रहेका चुनौती तथा सम्भावनालाई समेटी आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ । यो अध्ययन प्रतिवेदन आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६ (पहिलो संशोधन २०७९)” को आधारमा तयार पारिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यस्तो छ कार्यकारी सारांशः

प्रदेशको समष्टिगत आर्थिक स्थिति

–आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि २.१३ प्रतिशत भएको संशोधित अनुमान रहेको छ ।

–आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८८ प्रतिशत रहेको थियो ।

–आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२.८० प्रतिशत, उद्योग क्षेत्रको १६.३२ प्रतिशत र सेवा क्षेत्रको५०.८८ प्रतिशत योगदान रहने अनुमान रहेकोछ ।

कृषि

– आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसार लगायत बालीले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।

–कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७.९२ प्रतिशत, तरकारी बालीको ५.११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९७ प्रतिशत रहेको छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६४ प्रतिशत रहेको छ ।

– आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको छ । विशेष गरी खाद्य बाली अन्तर्गत धान ७.४५ प्रतिशत तथा कोदो ०.८६ प्रतिशतले बढेकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ ।

–अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन ०.०१ प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन ८.०३ प्रतिशतले घटेको छ ।

– आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले विस्तार भएको छ ।

–आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा दुध उत्पादन १९.९३ प्रतिशत, मासु उत्पादन २.३० प्रतिशत तथा माछा उत्पादन १.२१ प्रतिशतले बढेको छ भने अण्डा उत्पादन १.७३ प्रतिशत तथा उनको उत्पादन ६.४३ प्रतिशतले घटेको छ ।

–आर्थिक वर्ष २०८०/८१ मा काठको उत्पादन १५.२९ प्रतिशतले बढेको छ ।

–२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१० प्रतिशतले घटेर रु.५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । २०८१ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.१२ प्रतिशत रहेको छ ।

उद्योग

–आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५२.७ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७९/८० मा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको थियो ।

–उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको छ ।

–आर्थिक वर्ष २०८०/८१ मा यस अध्ययनमा समेटिएका उद्योगहरूको उत्पादनमध्ये गार्मेण्टको उत्पादन सबैभन्दा बढी २०२.१ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामानको उत्पादन सबैभन्दा बढी ४५.७ प्रतिशतले घटेको छ ।

–यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरूमा गत आ.व. २०७९/८० मा १८,४६१ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा आर्थिक वर्षमा ती उद्योगहरूमा जम्मा १६,९५८ जना श्रमिक कार्यरत रहेका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले कम हो ।

–सुनसरी, मोरङ, इलाम, झापा र उदयपुर जिल्लामा रहेका उद्योगहरूबाट क्रमशः ९ प्रतिशत, ६.९ प्रतिशत, १२.९ प्रतिशत, ४ प्रतिशत र १.३ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।

–आ.व.२०७९/८० मा कोशी प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ८३.२ प्रतिशत स्वदेशी र १६.८ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए भने समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र ९ प्रतिशत रहेको छ ।

–२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८.११ प्रतिशतले बढेर रु.१ खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ६.६४ प्रतिशतले बढेको थियो ।

सेवा

–२०८१ असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७५४, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १,८३७ शाखा पुगेका छन् ।

–२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाकोकुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ७८ अर्ब पुगेको छ ।

–२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.५३ प्रतिशत, बचत निक्षेपको अंश ४४.२७ प्रतिशत, मुद्दती निक्षेपको अंश ४३.१९ प्रतिशत र अन्य निक्षेपको अंश ६.०१ प्रतिशत रहेको छ ।

–२०८० असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२.३० प्रतिशत रहेकोमा २०८१ असार मसान्तमा यस्तो अनुपात १२१.१४ प्रतिशत रहेको छ ।

–आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा होटलहरूको औसत अकुपेन्सी दर ४१.८० प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरूको औसत अकुपेन्सी दर ३६.२९ प्रतिशत रहेको थियो ।

–समीक्षा अवधिमा यस प्रदेशका होटलहरूमा आन्तरिक पर्यटकको संख्या ४.७७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५९.३२ प्रतिशतले बढेको थियो ।

–आ.व. २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा समग्र जहाज उडान संख्या ६.२८ प्रतिशतले कमी आएको छ ।

–२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी ५.८९ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी ६.०५ प्रतिशतले वृद्धि भएको थियो ।

– आ.व. २०८०/८१ मा यस प्रदेशमा कुल ४० हजार ८ सय ५६ सवारी साधन दर्ता भएका छन् जुन आ.व.२०७९/८० को तुलनामा ३३.७५ प्रतिशतले बढी हो ।

–२०८१ असार मसान्तमा कोशी प्रदेशमा सरकारी/सामुदायिक विद्यालय, संस्थागत/निजी र प्राविधिक शिक्षालयको संख्या कुल ७ हजार ९७ रहेको छ ।

–२०८१ असार मसान्तसम्म कोशी प्रदेशमा सरकारी र निजी गरी कुल अस्पताल संख्या १६२ रहेका छन् । २०८० असार मसान्तमा यस्ता अस्पतालको संख्या १६४ रहेको थियो ।

–२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तसम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा ३.२८ प्रतिशतले बढ्न गई रु.३ खर्ब ७९ अर्ब पुगेको छ ।

पूर्वाधार

–कोशी प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरूको कुल उत्पादन क्षमता ६५३.५५ मेगावाट रहेको छ । समीक्षा आर्थिक वर्षमा कोशी प्रदेशमा निर्माण सम्पन्न ६ वटा जलविद्युत र एक सोलार गरी ७ वटा आयोजनाको विद्युत उत्पादन क्षमता १६८.५ मेगावाट रहेको छ ।

–कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरूको सबैभन्दा बढी २४५.४ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ । यस प्रदेशका जिल्लाहरूमध्ये इलाममा १६ वटा, संखुवासभामा ८ वटा, सोलुखुम्बुमा ७ वटा, पाँचथर र ताप्लेजुङमा ५/५ वटा, खोटाङ र भोजपुरमा ३/३ वटा तेह्रथुम र ओखलढुङ्गामा १/१ वटा जलविद्युत आयोजना रहेका छन् भने झापा र मोरङमा १/१ वटा सोलार विद्युत आयोजना रहेका छन् ।

–कोशी प्रदेशको प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विराटचोक–घिनाघाट सडक आयोजनाको आ.व. २०८०/८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा २०८१ असार मसान्तसम्म प्याकेज १ (११ किलोमिटर) को भौतिक तथा वित्तीय प्रगति क्रमशः ८८.० प्रतिशत र ९०.० प्रतिशत रहेको तथा प्याकेज–३ (२ किलोमिटर) को भौतिक तथा वित्तीय प्रगति क्रमशः १०० प्रतिशत र ९९ प्रतिशत रहेकोको छ भने प्याकेज–२ (९ किलोमिटर) को निर्माण सम्पन्न भएको छ ।

Health Tips Ad Road Block