Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

युद्धरत देश रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन पहल गर्ने श्रममन्त्रीको भनाइ, एनआरएनएले विभिन्न विषय समेटेर बुझायो पत्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँगको छलफलमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौँ,’ उनले भने,

उक्त भेटमा संघको तर्फबाट अध्यक्ष डा. केसीले तत्कालिन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई वर्षौँदेखि विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गरेका थिए ।

वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै एक वर्षअघि (२०८० पुस १९ मा) वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो।

यस्तै छलफलकाक्रममा अध्यक्ष डा. केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे । उनले भने, ‘ठूलो संख्यामा नेपालीहरु विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन् । ती नेपालीहरुलाई पासपोर्ट नविकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनको लागि कुवेतस्थित नेपाली दूतावास तोकिएको छ, जुन त्यति सहज नभएको गुनासो आउने गरेको छ, उक्त सुविधा कतार तथा युएईको नेपाली दुतावासबाट पाउने गरी व्यवस्था गरिदिनु हुन पनि म अनुरोध गर्छु ।ʼ जवाफमा मन्त्री भण्डारीले उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने उल्लेख गरे ।

अध्यक्ष डा. केसीले वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन गैरआवासीय नेपाली संघसँंग संयुक्त र सामूहिक कार्यक्रमको तर्जुमा गर्नको लागि आग्रह समेत गरेका छन् । जवाफमा मन्त्री भण्डारीले बढी भन्दा बढी श्रमिक तथा स्वरोजगारकर्तालाई कोषमा आबद्ध गर्न सरकारले परिमार्जनसहितको योजना बनाइरहेको र त्यसमा एनआरएनसँग पनि सहकार्य गर्ने बताए । आगामी फेब्रुअरीमा सरकारले गर्न लागेको श्रम रोजगार सम्मेलनमा पनि एनआरएनलाई सहभागी गराउने उनले उल्लेख गरे । अध्यक्ष डा. केसीले चेक रिपब्लिकमा कोभिड–१९ पछि श्रम स्वीकृति नविकरण रोकिएकोले श्रम स्वीकृति एवं नविकरण कार्यलाई सहजीकरण गरिदिन पनि हुन अनुरोध गरे । मन्त्री भण्डारीले उक्त सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय र छलफल भइरहेको जानकारी गराए ।

सो क्रममा मन्त्री भण्डारीलाई बुझाइएको पत्रमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको ज्ञान, सीप र पूँजीलाई स्थानीय तहमार्फत परिचालन गर्न तथा उनीहरुलाई नीतिगत रुपमा सहयोग उपलब्ध गराउंँदै पुर्नएकीकरण गर्न,गैरआवासीय नेपाली लक्षित विप्रेषण तथा लगानीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन एवं पुरस्कार र सम्मानको व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जानेहरुलाई अनिवार्य रुपमा अभिमुखीकरण सीप दिन, सातै वटा प्रदेशमा व्यवसायिक सीप शिक्षा केन्द्र खडा गरी दक्ष जनशक्ति मात्र विदेश पठाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक रुपमा बैकिङ्ग च्यानल मार्फत ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले नेपाली श्रमिकलाई उनीहरुले पठाएको विप्रेषणमा २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरिएको छ।

यता रुसका लागि नेपालका राजदूत नवनियुक्त प्रा.डा. जंगबहादुर चौहृान, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block