काठमाडौं । पुस २५ मा बीमा क्षेत्रसँग सम्बन्धीत दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’ हुने भएको छ । बीमा प्राधिकरण र बैंकिङ्ग समाचार डटकमको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाईफको मूख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ पुस २५ मा हुने भएको हो । काठमाडौंको मेरियट होटलमा आयोजना हुने डिस्कोर्शमा कुल ४ वटा सत्र हुनेछन्। डिस्कोर्शमा जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धीत सत्र हुनेछन् ।
ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधिहरुको सहभागिता तथा विभिन्न बीमा विज्ञहरुको उपस्थिति रहनेछ । यसैगरी भारतबाट दुई जना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनेछन् ।
देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामिण तहसम्म पहुँच विस्तारमा सकारात्मक भूमिका खेल्ने लक्ष्यसहित २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना हुँदै आएको छ । हरेक डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल गर्ने, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी, भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा वृहत् छलफल हुँदै आएको छ ।
डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पारी अर्थ मन्त्रालय र बीमा प्राधिकरणमा बुझाइनेछ । कार्यक्रम आयोजना गरेर दस्तावेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावी दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रवद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने आशा गरिएको छ ।






















