काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग रकम स्वीकृत गरेको छ । यो आजको विनिमयदरअनुसार ६ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी हो ।
सञ्चालक समितिको यो निर्णयले नेपालका विकास प्राथमिकताहरूलाई रूपान्तरणकारी तथा गुणस्तरीय पूर्वाधार परियोजनाहरूको माध्यमबाट अगाडि बढाउने एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतालाई जोड दिने एमसीसीले जनाएको छ ।
एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, ‘यस अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत् ग्रिडलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा कम्प्याक्टको सफलता सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्दछ ।’
आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय भएको बताइन्छ।
सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी मापदण्डहरू पुरा गर्ने देशहरूलाई पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्नका निम्ति निश्चित समयसीमाका अनुदानहरू उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।






















