काठमाडौं । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन सम्हालेको कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई निक्षेप रकम फिर्ता गर्ने कार्य थालिएको छ । यो कार्य दिनहुँ भइरहेको हो । बिहान ११ बजेदेखि भुक्तानी कार्य भइरहेको हो ।
नेपाल राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएसँगै बिरामी, बृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता प्रदान गर्ने गरी अधिकतम २५,००० रुपैयाँको सीमाभित्र रहेर प्रति शाखा अधिकतम् ५० जना सम्मलाई निक्षेप भुक्तानी गरिने सूचनामा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार संस्थामा हाल रहेको तरलता अवस्थालाई दृष्टिगत गरी बिहीबार केन्द्रीय कार्यलयसहित विभिन्न १९ शाखामार्फत निक्षेप फिर्ता गर्ने कार्य भएको छ ।























