काठमाडौं । नागढुंगा–नौबिसे–मुग्लिन सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिकहरु कष्टकर यात्रा गर्न बाध्य छन् । यसले उनीहरु वर्षौंवर्षदेखि मारमा छन् । यही विषयको गुनासोसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुंगा नौबिसे मुग्लिन सडक निर्माणको नतिजा देखाउन निर्देशन दिएका छन् । निर्माणाधिन सडकको स्थलगत निरीक्षण गरि निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई सो निर्देशन दिएका हुन् । निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरि समाधान गर्ने भन्दै उनले अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने समेत चेतावनी समेत दिए ।

नागढुंगा–नौविसे–मुग्लिन, नौविसे –मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाईफलाईनको रुपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरि काम गर्न निर्देशन दिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरि नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेश गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरुलाई निर्देशन दिए । कुनै पनि बहाना र कारणले निर्माणमा ढिला सुस्ती नगर्न भन्दै उनले कामको परिणाम देखिने गरि निर्माणमा द्रुतता दिन पनि आग्रह गरे । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरि सकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको जनाए ।
मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरुसँग निर्माण कम्पनीका प्रतिनिधीहरुले यस अघि निर्माण सामाग्री जुटाउन देखिएको समस्या मन्त्रीकै अग्रसरतामा भएको पहल पछि समाधान भएको बताएका थिए । कामलाई थप तिव्र बनाउन ताकेताका लागि मन्त्री निरीक्षणका लागि पुगेका हुन् ।






















