काठमाडौं । निरन्तर डलरको मूल्यले रेकर्ड कायम गरेका कारण बिहीबार नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । यसअघिका दिनमा डलर किन्न जति पैसा लाग्दथ्यो आज हालसम्मकै बढी नेपाली रुपैयाँ पर्ने भएको हो । अथवा अर्को भाषामा भन्नुपर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्न पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा रहेको छ । यसको अर्थ अब १ अमेरिकी डलर प्राप्त गर्न १३७ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ । खरिददर भने १३६ रुपैयाँ ७४ पैसा रहेको छ।
अँग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन हिजोमात्रै डलर मूल्यले रेकर्ड बनाएको थियो । हिजोको रेकर्ड आज तोडिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार हिजो बुधबार डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा रहेको थियो । खरिददर भने १३६ रुपैयाँ ६९ पैसा रहेको छ।
डलरको मूल्य बढ्दा कस्ता असर पर्न सक्छन् ?
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ ।
अर्कोतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । यसले बजार महँगीलाई थप बढ्ने बाटोतर्फ अगाडि बढाउनेछ र बजार महँगी हुन सक्नेछ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।
डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ र ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ ।






















