काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको ब्युटी सलुन ‘फेसियल हाउस’ले व्यवसायमा महिला शसक्तिकरण, विभिन्न कला संस्कृतिको उजागर र कर्मचारीलाई सम्मान गर्दै आफ्नो १७ औं वार्षिकोत्सवका सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंमा वार्षिकोत्सव सम्पन्न भएको हो ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाह लगायतको उपस्थितिमा सम्पन्न वार्षिकोत्सवमा उद्यम र महिला शशक्तिकरणको मुद्दालाई जोडका साथ उठाइएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै हाउसका संरक्षक शाहले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन हुनुपर्नेमा जोड दिए । काठमाडौं महानगरकी उपमेयर डंगोलले महिला शसक्तिकरणको नमुना फेसियल हाउसले प्रस्तुत गरेको भन्दै त्यसबाट सबैलाई प्रेरणा मिलेको बताइन् । त्यस्तै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्यम व्यवसायमा महिलाहरुले नेतृत्व गर्ने अवस्था आउनु स्वागतयोग्य विषय रहेको धारणा राखे । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले सबैको प्रयासबाट हाउसले सफलता हासिल गरेको उल्लेख गर्दै रोजगारीका क्षेत्रमा संस्थाको योगदानलाई कदर गरिन् ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले १७ वर्षसम्मको अनवरत यात्राका संघर्षबारे स्पष्ट पार्दै समूहका सबैको साथ र सहयोगले यो सम्भव भएको बताइन् । महिला आत्मनिर्भरताका विषयलाई आफूले जोडका साथ उठाइरहको उनको भनाइ थियो ।
फेसियल हाउसको १७ औँ वार्षिकोत्सवमा यसका विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।






















