काठमाडौं। वीरगञ्ज नाकाबाट डिजेलको आयात घटेको छ भने पेट्रोल आयात बढेको छ । मंसिरसम्ममा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको छ भने राजस्व संकलन छ दशमलव ९१ प्रतिशतले घटेको विरगञ्ज भन्सार कार्यालयले जनाएको छ । यो पाँच महिनाको अबधिमा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो । गत आवको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो ।
यता मंसिरसम्ममा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्व १२ दशमलव ५२ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड दुई लाख २७ हजार रुपैयाँ पर्ने एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार रुपैयाँ पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याँकरबाट आयात हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ। यता नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब पेट्रोलियम पदार्थको खपत वृद्धि हुँदै जाने जानकारी दिएका छन् ।






















