दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको छ ।
जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्ममा सक्ने अनुमान गरिएतापनि कडा चट्टानका कारण पुस महिनासम्म समय लम्बिएको विभागको भनाइ छ ।
ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने बताइएको छ । खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने छन् ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेका छन् । दैलेखको शिर स्थान, नाभी स्थान, पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । कोरोनाका कारण काम सुरुकै समयमा हुन नसकेर पछि थालिएको हो । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।






















