काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैंक बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले अहिले भईरहेको एकल अंकको व्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताए । लिने समयमा एकल अंकको व्याजदर भएपनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरुलाई सदैव झकझकाई रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलिपकुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको भनाइ राखे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बंैकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको धारणा राखे । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको पनि बताए ।






















