काठमाडौं । भोलि आइतबार स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । आयोगका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
भोलि कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरीशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । यसैगरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ । त्यस्तै काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।






















