काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि लागु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्मको अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाउनु नै मौन अवधि हो । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।
यो मौन अवधिमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन ।
आयोगका अनुसार मौन अवधिमा के–के गर्न पाइँदैन ?
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ वमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले कस्ता कार्य गर्न गराउन नहुने भनेर निर्वाचन आयोगले यसप्रकारको निर्देशन जारी गरेको छ ।
१. कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने।
२. निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने।
३. कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने।
४. सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने।
आयोगले निर्वाचन प्रचार प्रसार निषेध गरेको अवधिमा नगर्नु भनेर तोकिएका कार्य गरेको वा कहीं कतै आचारसंहिता उल्लंघन गरेको पाइएमा तत्काल कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।






















