Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको भृकुटीमण्डपमा चौथो प्लास्ट नेपाल २०२४ सुरु, स्वदेशी उत्पादनमा लाग्ने अन्तशुल्क हटाउन माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा प्लास्टिकबाट निर्मित सामानहरूको चौथो प्रदर्शनी चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो सुरु भएको छ । एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् । प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएका उद्योगहरुको गैरनाफामुलक संगठन प्लाष्ट नेपाल फाउन्डेसनको आयोजनामा एक्स्पो भइरहेको हो ।

मंसिर १५ गतेसम्म चल्ने एक्स्पोको उद्घाटन गर्दै मन्त्री भण्डारीले कानुनमा देखिएका समस्या समाधान गर्दै लगानी गर्ने र लगानी आउने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए । प्लास्टिकजन्य पदार्थले गर्ने असर न्यूनिकरणमा सघाउन उनले उद्योगीहरुलाई आग्रह गरे ।

उद्घाटन कार्यक्रममा प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले सकारात्मकरुपमा प्लास्टिकलाई लिनुपर्ने बताए । प्लास्टिक नहुँदा वन जंगल नास गर्नुपर्ने अवस्था आउँदथ्यो भने प्लाष्टिकको प्रयोगका कारण यसको संरक्षण भइरहेका कारण यसले पर्यावरण जोगाइरहेको विषयबारे सबैले बुझ्नुपर्ने उनले बताए । राज्यले पुनः प्रशोधन गर्ने उद्योगलाई सघाउनुपर्ने धारणा राख्दै उनले पुन प्रयोगमा आउनसक्ने सामान उत्पादन गर्न हौस्याएमा थप कमाइ गर्न सकिने बताए । अन्तशुल्कका कारण स–साना उद्योगीले हिसाब राख्न नसकेको, दण्ड जरिवाना ठूलो भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनको रहेको छ । स्वदेशमा उत्पादन हुने वस्तुमा लाग्ने अन्तशुल्क हटाउन अध्यक्ष श्रेष्ठले जोडदार माग गरेका छन् । उद्योगलाई बचाएर रोजगारी सिर्जना र आयात प्रतिस्थापन हुनसक्नेतर्फ लाग्नुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कानुनको संशोधनमार्फत लगानीको वातावरण बनाउनुपर्ने बताए । यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले नेपाली उत्पादनमा आवश्यक सम्पूर्ण कच्चापदार्थ आयातमा भन्सार दर घटाउनुपर्ने माग राखे । त्यसैगरी प्लास्टिक र प्लास्टिकका सामान उत्पादन गर्नेहरुका लागि नेपालमा वातावरण बनाउने नीति ल्याउनुपर्ने अग्रवालले बताए । यता नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले प्लास्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्न सकिने भएकाले नेपालमा पुनः प्रयोग गर्ने व्यवस्थाको वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा सेवा प्रदायकहरुको उपस्थिति रहेको छ । एक्स्पोमा १५० भन्दा बढी स्टलमार्फत प्रदर्शनी भइरहेका छन् ।

नेपालमा प्लास्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरी जनचेतना जगाउने तथा विश्व बजारका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा भित्र्याउन समेत एक्स्पोले सहयोग पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

Health Tips Ad Road Block